२ साउन, डब्लिन। नेपाल सन २०१६ मा भारतले आयोजना गर्ने आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताको दौडबाट लगभग बाहिरिएको छ ।

आयरल्याण्ड र स्कटल्याण्डले संयुक्त रुपमा आयोजना गरेको विश्वकप छनोट प्रतियोगितामा लगातार तेस्रो हार ब्योहोरेपछि दोस्रो पटक विश्वकपमा पुग्ने नेपालको सम्भावना अंक गणितमामात्रै सिमित बनेको हो ।

यस्तो छ झिनो गणितीय सम्भावना !

नेपालले प्रतियोगितामा अन्तिम खेल जर्सीसँग खेल्ने छ । सो खेल जितेरमात्रै नेपाललाई अघि जान पर्याप्त हुँदैन । नेपाल प्लेअफमा पुग्नका लागि हङकङ  र जर्सीले आफ्ना बाँकी सबै खेल गुमाउनुपर्छ भने, अमेरिकाले हङकङबाहेक अन्यलाई जित्नु हुँदैन । यस्तै आयरल्याण्ड, नामिबिया र पपुवा न्युगिनी बाँकी सबै खेलमा विजयी हुनपर्छ । यतिभएमा मात्रै नेपालको सम्भावना कायम रहनेछ ।

पहिलो खेलमा अमेरिकालाई हराउँदै सुखद् सुरुवात गरेको नेपालले त्यसपछि साविकको प्रदर्शन गर्न सकेन । दोस्रो खेल वर्षाले प्रभावित भएपछि नामिबियासँग अंक बाँढेको नेपाल त्यसपछिका खेलमा लगातार आयरल्याण्ड, हङकङ र पपुवा न्युगिनीसँग पराजित भयो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार भएको निकै महत्वपूर्ण खेलमा नेपाल पपुवा न्युगिनीसँग ८ विकेटले निरास बन्यो । नेपालले प्रस्तुत गरेको ९४ रनको झिनो लक्ष्य पीएनजीले ३५ बल अगाबै २ विकेट गुमाएर भेट्टायो । नेपालका लागि सोमपाल कामी तथा वसन्त रेग्मीले १–१ विकेट लिएपनि त्यो जीतका लागि पर्याप्त भएन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित भन्दा २ बल अगावै अलआउट हुँदै ९३ रन जोडेको थियो । नेपालको पारीमा प्रदिप एेरीले सर्वाधिक २९ तथा सागर पुनले १५ रनको योगदान गर्नु बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।