नयाँ दिल्ली श्रावण २ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।
शुक्रबार अपरान्ह प्रचण्डले हैदारवाद हाउसमा प्रधानमन्त्री मोदीसँग  भेट गरी नेपालको संविधान लेखन तथा नेपालको राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन्। प्रचण्ड निकट स्रोतका अनुसार करिब एक घन्टा लामो भेटमा प्रचण्डले नेपालमा छिटै संविधान जारी हुन लागेको जानकारी गराउँदै त्यसमा भारतको सहयोगको अपेक्षा राखेका थिए।

प्रचण्डले दलहरुबीच भएको १६ बुँदेकै जगमा साउनभित्रै संविधान आउने जानकारी दिएका थिए। मोदीले नेपालको संविधान लेखन प्रकियामा भारतको सम्पूर्ण सहयोग रहने आश्वासन दिएका थिए। मोदीले नेपालमा सबै पक्षलाई समेटेर छिटै संविधान बनोस् भन्ने भारतीय चाहना रहेको बताएका थिए।

मोदीले संघीयताका सबै विषय टुंग्गाएर संविधान ल्याउँदा राम्रो हुने सुझाव दिएका थिए। प्रचण्डले भारत, चीन र नेपालका वीचमा त्रिदेशीय रणनीतिक साझेदारीको विकास, भारत र चीन वीच भएको सम्झौतामा उल्लेख गरिएको लिपुलेकलगायतका विषय पनि उठाएका थिए। मोदीले यी विषयलाई आपसी सम्वादबाट समाधान गर्न सकिने बताउँदै नेपालका हरेक समस्या समाधानमा भारतको सकारात्मक सहयोग रहने स्पष्ट पारेका थिए।

भेटमा दुई पक्षीय हित र सम्बन्धका अन्य विषयमा पनि कुराकानी भएको बताइएको छ। यसअघि प्रचण्डले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र  सचिवसँग भेटवार्ता गरेका थिए। भारत सरकारको निम्तमा प्रचण्ड मंगलबार दिल्ली पुगेका हुन् ।