१ साउन, काठमाडौ । राजनीतिक विषयमा आधारित टेलिश्रृंखला ‘सिंहदरबार’ को अहिले छायांकन भइरहेको छ। छिरिङ रितार शेर्पाले निर्देशन गरिरहेको श्रृंखलामा अभिनेत्री गौरी मल्लले प्रधानमन्त्रीका रूपमा अभिनय गरेकी छन्। १३ भागको टेलिश्रृंखला प्रधानमन्त्रीको उत्तरदायित्व, पारदर्शिता र सहकार्यात्मक नेतृत्व सहितको सुशासन स्थापना गर्ने अभियानमा केन्द्रित रहने जनाइएको छ। “नेपालमा संविधान आइसकेपछिको अवस्थालाई कथानकका रूपमा देखाएका छौं”, निर्देशक शेर्पा भन्छन्।

अमेरिकी सहयोग नियोग, युएसआईडीको सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपाल र मिला प्रोडक्सनले निर्माण गरेको यस टेलिश्रृंखला मार्फत सरकार र नागरिकबीचको सहकार्यको संस्कारलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको सर्च फर कमन ग्राउन्डका युवाकरराज राजकर्णिकार बताउँछन्। उनी भन्छन्, “यसले नागरिकमा सरकारप्रति र सरकारमा नागरिकप्रति सहअस्तित्वको भावना जगाउन मद्दत गर्नेछ।” यो श्रृंखला असोजदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ।