१ साउन, काठमाडौ । शुक्रबार साउने संक्रान्ति पर्व मनाईंदैछ । सौर्यमान्अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले यस दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ ।

कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

बेलुका लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन छ । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादि रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो ।

प्राचीन प्रचलनअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधिय बनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ । तर केही वर्षदेखि भने लुतो फ्याँक्ने प्रचलन बिस्तारै हराउन थालेको छ ।