३० असार,पर्वत । पर्वतको मालढुंगादेखि म्याग्दी सदरमुकाम बेनी जाने सडक अबरुद्ध भएको छ। नाङ्लीवाङ–९ फनफनेमा आएको पहिरोले सडक अबरुद्ध भएको हो। बिहान ४ बजे लेदोसहितको पहिरो आएपछि सडक अबरुद्ध भएको प्रहरी सहायक निरिक्षक जुथबहादुर थापाले जानकारी दिए। पहिरो हटाएर यातायात सञ्चालनका लागि अहिले जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले प्रयास गरिरहेको प्रहरीले जनाएको छ।
पहिले पनि निकै कमजोर भुभाग रहेको मालढुंगा–बेनी सडकमा यसपटक भूकम्पका कारण जमिन हल्लिएपछि थप कमजोर भएको छ। सामान्य पानी पर्दा समेत माथिबाट पहिरो झर्न थालेपछि मनसुन नरोकिएसम्मका लागि उक्त सडकमा यात्रा जोखिमपूर्ण बनेको छ। यता नाग्लीवाङ–४ स्थित गिरिगिरे भन्ने स्थानमा पहिरोले एउटा घर पुरेको छ। स्थानीय ६२ बर्षीय रजे दमाईको घर माथिबाट आएको पहिरोले पुरिएको हो।
पहिरोले घर पुरिएपछि स्थानीयको सहयोगमा प्रहरीले घरमा रहेका तीन जनालाई जिबितै उद्दार गरिएको छ। उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट मिलनचोकबाट प्रहरी हवल्दार सुमन परियारको नेतृत्वमा गएको चार जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक सुनजित तामाङको नेतृत्वमा गएको १६ जनाको टोलीले पुरिएकालाई जिबितै उद्दार गरेको हो।