२७ असार, काठमाडौं । नरेन्द्र मोदीले  नेतृत्व गरेको सरकारको निमन्त्रणामा एनेकपा माओवादी अध्यक्ष प्रचण्ड दिल्ली जाने तय भएको छ । दिल्ली भ्रमणमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चस्तरीय नेतृत्वसँग भेटघाट गर्ने बताएको छ । भ्रमणको कार्यतालिका अझै आइसकेको छैन ।

“अध्यक्षज्यूको भ्रमण तय भए पनि को को सँग भेट्ने भन्ने चाहिँ तय भइसकेको छैन ।” एमाओवादी महासचिव कृष्ण बहादुर महराले दैनिक डटकमसँग भने । महराका अनुसार, यसपटक प्रचण्ड एक्लै भ्रमणमा जाने छन् । “पार्टीबाट वहाँसँग अरु कोही जाने कार्यक्रम छैन । वहाँको भ्रमण पत्नी सीता र एक स्टाफ मात्रै जाने तयारी भएको छ ।” महराले भने ।

संविधानका अन्तर्वस्तु अन्तर्गत संघीयता, नागरिकता र कतिपय अन्य विषयहरुमा चासो राख्ने भारतले १६ बुँदे सहमतिका मुख्य सूत्राधार प्रचण्डलाई छलफलका लागि बोलाउनुले राष्ट्रिय राजनीतिमा महत्व राख्ने भएकोले यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको हो । खासगरी प्रचण्डको चीनसँगको नजिकको सम्बन्ध र विगतमा भारतविरोधी अभिव्यक्तिहरुका कारण उनको भ्रमणबाट संविधानमा असहमत रहेका मधेसवादी शक्तिहरुलाई सहमतिमा ल्याउन समेत सहज हुने कतिपयले विश्लेषण गरेका छन् ।

हिन्दु धार्मिक कट्टरतावादीहरुको बाहुल्यता भएको मोदी सरकारको मुख्य चासो नेपालमा धर्म निरपेक्षता, संघीयता र नागरिकता जस्ता विषय रही आएका छन् । यस अतिरिक्त भारतीय लगानी र भावी सरकार पनि उसको स्वार्थको विषय हो । यो सन्दर्भममा भारतविरोधी छवि बनाएका प्रचण्डलाई स्वयम् नरेन्द्र मोदीबाट निमन्त्रणा पाइनु र उनको भ्रमणमा अरु कोही पनि नजानुले भारतले नेपालमा आफ्नो गुम्न थालेको हस्तक्षेपलाई फेरी पुर्नजीवित गर्न खोजेको त होइन भन्ने प्रश्न पनि उठेको छ ।

प्रचण्डको भ्रमणबारे एमाओवादीले विस्तृत जानकारी बाहिर दिएको छैन । अन्य यस्ता भ्रमणहरुमा पार्टीका विदेश विभाग प्रमुख कृष्ण बहादुर महरालगायतलाई सँगै लैजाने प्रचण्डले यसपटक भने आफू एक्लै गइरहेका छन् । यति मात्रै होइन, भारत नजिक भनेर आलोचना गरिँदै आएका वरिष्ठ नेता बाबुराम भट्टराईले प्रचण्डविरोधी अभिव्यक्ति दिइरहेको बेला प्रचण्डसँग बाबुराम पनि भारत भ्रमणमा नजानुलाई समेत अर्थपूर्णरुपमा हेरिएको छ ।