२७ असार, धनगढी । कैलालीको पहाडी क्षेत्र सहजपुर–२ बयँला गाउँमा विषालु च्याउ खाँदा पाँच परिवारका २१ जना बिरामी परेका छन् ।

गाउँ नजिकै रहेको जङ्गलबाट शनिबार दिउँसो टिपेर ल्याएको च्याउ बेलुका घरमा पकाएर खाँदा उनीहरु बिरामी परेको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

च्याउ खाएर बिरामी हुनेमा १० महिला, ६ बालक, ४ बालिका र एक युवक छन् । बिरामी हुनेमध्ये शान्ति थापा र ओम दर्लामी मगरको अवस्था केही गम्भीर रहेको चिकित्सकलाई उद्धृत गर्दै बोहराले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय फल्टुडेको टोलीले शनिबार राति नै सबै बिरामीलाई सेती अञ्चल अस्पताल धनगढीमा पुर्‍याएको थियो । रासस