२६ असार, काठमाडौं ।आईसीसी टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।

अमेरिकाले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले अन्तिम २ बल खेल्नु अघि ४ विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर सागर पुन व्यक्तिगत चार रनमा आउट भए, जतिबेला नेपालको स्कोर ६ रन थियो ।

तर, सुवास खकुरेलको स्थानमा आएका अनिल मण्डल र उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । अनिल २९ रनमा आउट भए ।

उपकप्तान ज्ञानेन्द्रले अर्धशतक पुरा गरे । ४३ बलको सामना गरेका उनले ६ चौका र एक छक्काको मदतमा ५२ रन बनाए ।पारस खड्का २१ र शरद भेसवाकर २ रनमा अविजित रहे । विनोद भण्डारीले ७ रन बनाए ।यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

Sompal-Kami

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा शक्ति गौचन र बसन्त रेग्मीले समान ३-३ विकेट लिए । सोमपाल कामीले २ तथा सागर पुनले एक विकेट लिए ।२ ओभरमा २७ रन दिएका करन केसी महंगो सावित भए । कप्तान पारस खड्काले विकेट नलिएपछि ३ ओभरमा मात्र १० रन दिएका थिए ।शक्ति म्यान अफ दि म्याच घोषित भए ।

Basanta-Ragmi

तस्वीरः आईसीसी