मुम्बई: बलिउड अभिनेत्री नरगिस फाखरी चलचित्र ‘अजहर’मा भारतीय पूर्वक्रिकेटर मोहम्मद अजहरुद्दिनकी पत्नी संगीता विजलानीको भूमिकामा देखिने भएकी छन्। मोहमदको भूमिकामा भने इमरान हासमीको अभिनय रहने भएको छ।
ग्ल्यामरस र स्टाइलिस भएकाले संगीताको भूमिकामा नरगिस उपयुक्त भएकाले उनलाई छनोट गरिएको निर्माण पक्षले जनाएको छ।
 चलचित्रको छायांकन हुनुभन्दा अगाडि नरगिस कार्यशालामा सहभागी भई संगीताका बारेमा जानकारी हासिल गर्नुका साथै उनको आनीबानी, रहनसहन एवं जीवनशैलीका बारेमा अभ्यस्त हुने छिन्।
नरगिसभन्दा अघि सो भूमिकाका लागि करिना कपुर, ज्याकलिन फर्नान्डिस, निमरत कोरजस्ता अभिनेत्रीका नाम चर्चामा आएको थियो। नरगिसका साथमा यस चलचित्रमा अर्की नायिका पनि रहनेछिन्। तर को रहने भन्ने अहिलेसम्म तय नभएको बताइएको छ। चलचित्र अजहरुद्दिनको करियर र निजी जीवनमा आधारित छ। जसमा नजरुद्दिनको जीवनको उतार चढाव समेटिने भएको छ। एजेन्सी