२२ असार,काठमाडौं । संविधानको पहिलो मस्यौंदामा जनताको राय सुझाव संकलनका लागि १५ दिनको समय दिने तयारी संविधानसभा सचिवालयले गरेको छ।

संविधानसभा सचिवालय स्रोतका अनुसार, जनताको राय संकलनका लागि संविधानसभाले नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिलाई साउन ७ गतेसम्मको समय दिने तयारी भइरहेको छ।

संविधान मस्यौंदा समितिले तयार पारेको मस्यौदामाथि असार १९ गतेदेखि संविधानसभामा शुरु भएको सैद्धान्तिक छलफल मंगलबार साँझसम्म सम्पन्न गरेपछि संविधानसभाको निर्णय अनुसार सभाध्यक्षले निर्णयार्थ पेश गर्ने छन्।

संविधानसभा सचिवालयले तयार पारेको मंगलबारको कार्यसूचि अनुसार बिहान ८ बजेदेखि शुरु भएको सैद्धान्तिक छलफलमा बोल्न बाँकि रहेका झण्डै ८० जना सभासदले भाग लिएपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले छलफल टुंग्याउने छन्।

त्यसपछि नेम्वाङले मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई मस्यौदामाथि सभासदहरुले उठाएको प्रश्नहरुको जवाफ दिन समय दिने छन्।

त्यसपछि सिटौलाले मस्यौदालाई जनताको प्रतिक्रिया प्राप्त गर्न राजपत्रमा प्रकाशित गरी सार्वजनिक गर्न सदनको सैद्धान्तिक सहमतिका लागि प्रस्ताव राख्ने छन्। उक्त प्रस्तावलाई संविधानसभाको बैठकले अनुमोदन गरेपश्चात जनताको प्रतिक्रियाका लागि नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिलाई जिम्मा दिइने छ।

सचिवालयले तयार गरेको कार्यसूचि अनुसार, सभाले आजै सुझाव समितिलाई १५ दिनको समय निर्धारण गरी साउन ७ गते जनताको प्रतिक्रियासहितको प्रतिवेदन बुझाउन निर्देशन दिने तयारी सभाध्यक्षले दलहरुको परामर्शमा गरिरहेका छन्।

त्यसरी प्राप्त राय सुझावको प्रतिवेदनमा देखिएका कतिपय विमतिका विषयहरु मिलाएर सहमतिको प्रस्ताव तयार पार्न संविधानसभाले संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाइने छ।

यसरी संवाद समितिले तयार पारेको प्रतिवेदन पश्चात सभाले संविधानको विधेयक मस्यौदा तयार पारी संविधानसभामा अन्तिम छलफल र निर्णयका लागि पठाइने छ।