२२ असार,काठमाडौं । हाल मसिक ६२ करोड रूपैयाँ नाफा कमाएको नेपाल आयल निगमले साउन महिनामा २ अर्ब ऋण तिर्ने तयारी गरेको छ।निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुपात मिलाएर यो रकमको ऋण घटाउन लागेको हो।

यी दुवै कोषको ऋणस्वरुप निगमले साढे १० प्रतिशतको चर्को व्याज तिर्दै आएको छ। निगमको कर्मचारी सञ्चय कोषमा ६ अर्ब ऋण बाँकि छ। नागरिक लगानी कोषमा ३ अर्बको ऋण बाँकि छ।

त्यस्तै निगमको एभरेष्ट बैंक, नबिल बैंक र बैंक अफ काठमाण्डुमा पनि ऋण छ। निगमका अनुसार एभरेष्ट बैंकमा १ अर्ब १४ करोडको ऋण छ। त्यस्तै नविल बैंकको ८० करोड र बैंक अफ काठमाण्डुको ३० करोड ऋण बाँकी छ। यी बैंकहरुलाई निगमले ६ देखि साढे ७ प्रतिशत व्याज तिर्दै आएको छ।

त्यस्तै नेपाल सरकारको १२ अर्ब ६४ करोड १० लाख रुपैयाँ पनि आयल निगमको ऋणकै रुपमा रहेको छ। यद्यपी यो रकम नेपाल सरकारको सेयरमा परिणत हुने क्रममा रहेको छ।

नेपाल सरकारको बाहेक ११ अर्ब २४ करोड रुपैयाँ निगमको ऋण बाँकी छ। यो ऋणमध्ये पनि साउन महिनामा २ अर्ब ऋण तिरेपछि निमगको ९ अर्ब २४ करोड रुपैयाँ ऋण बाँकी रहन्छ। ‘चर्को व्याज तिर्नुपरेकोले साउन महिनामा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण घटाउनेछौँ’ निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले सेतोपाटीलाई बताए।

आयल निगमले आफ्नो ऋणको व्याज उपभोक्ताबाटै अशुल्दै आएको छ। ऋण घटाउँदै जाँदा उपभोक्ताबाट अशुलेको व्याज पनि घटाउँदै जानुपर्नेमा निगमले अहिलेसम्म सोअनुसारको व्याज कत्ति पनि घटाएको छैन।

उपभोक्तासित ऋणको व्याज असुल्न थालेपछि निगमले १२ अर्ब ७८ करोड ऋण तिरिसकेको छ। तर व्याजको रकम किन घटाएन निगमले? ‘निश्चित सन्तुलनमा आइसकेपछि व्याज घट्नेछ, सम्भतः साउन महिनादेखि नै हामीले व्याज केही घटाउने कोसिस गर्नेछौँ’ घिमिरेले भने।