काठमाडौं, असार २० । नेपाल विद्युत प्राधिकरणले वर्षातको समयमा लोडसेडिङ नघटाउने भएको छ । प्राधिकरणको आज बसेको बैठकले पूरानै लोडसेडिङको तालिकालाई निरन्तरता दिने निर्णय गरेको हो ।
गत वैशाख १२ गते आएको भूकम्पका कारण सुनकोसी जलविद्युत आयोजनामा क्षति पुगेकाले लोडसेडिङ घटाउन नसकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले अहिले हप्तामा ४७ घन्टा लोडसेडिङ गर्दै आएको छ ।
‘भूकम्पका कारण सिन्धुपाल्चोकको सुनकोसी जलविद्युत परियोजनमा क्षति भयो, जसका कारण हामीले वर्षातमा घटाउने भनेको लोडसेडिङ घटाउन सकेनौं’, नेपाल विद्युत प्राधिकरणमा प्रवन्ध निर्देशक मुकेशराज काफ्ले सेतोपाटीसँग भने ।
सुनकोशीबाट १० दशमलव ६ मेगावाट विद्युत उत्पादन हुँदै आएको थियो । ‘भूकम्पले सुनकोसीलाई अवरुद्ध पारेपछि ८० देखि ९० मेगावाट विद्युुत आउट भयो’, काफ्ले भने ‘योजना अनुसार काम गर्न सकेनौं।’
भूकम्प नआएको भए आफूहरुको योजना अनुसार बर्खामा १ देखि २ घन्टासम्म लोडसेडिङ हुने उनले जानकारी दिए ।
‘सुनकोसी जतिसक्दो चाँडो संचालनमा आउँछ, उति नै कम लोडसेडिङ हुन्छ’, उनले भने । भूकम्पले नियन्त्रण काबुभन्दा बाहिर गएपनि नेपाल विद्युत प्राधिकरणका सबै आयोजनाहरु अहिले सूचारु भएको उनले बताए ।
कुलेखानी ड्याममा पनि अहिले पानी भरिएको छ । वर्षामा पानी जम्मा गर्ने त्यो पानीले हिउँदमा प्राधिकरणले  विद्युत उत्पादन गर्दै आएको छ ।  कुलेखानीमा पानी छ भनेर लोडसेडिङ कम गराउँदा झन समस्या हुने र आफूहरु योजनाले नै फेल खाने काफ्लेले बताए ।