खाँदबारी असार २० । भोटखोलाका पहिरोपीडितकालागि पठाइएको ९६ क्वीन्टल चामल नुममा रोकिएको छ।
जेठ २७ गते पावाखोला, पाथीभरा, हटियामा पहिरोले विस्थापित भएका परिवारकालागि पठाइएको चामल सम्बन्धित क्षेत्रमा नपुगेपछि खाद्य संकट सुरु भएको छ।
जिल्ला खाद्य आपूर्ति समितिले निर्णय गरी पठाएको खाद्यन्न एक सातादेखि नुम बजारमै थन्किएको छ।
चामल रोकिएपछि पीडितहरू भोकै बस्न बाध्य भएको एमालेका जिल्ला अध्यक्ष हेमराज घिमिरेले बताए।
स्थानीयबासीले खाद्यान्न कार्यालय खाँदबारीले पठाएको चामल पहिरो स्थलसम्म ढुवानी गर्न माग गरेका छन्।
नुनसम्म गाडीमा ढुवानी गरिएको चामल सम्बन्धित स्थलमा पुर्‍याउन पहल भइरहेको खाद्य कार्यालयले जनाएको छ।
जिल्ला खाद्य सञ्जाल समितिले पावाखोलालगायत भोटखोला क्षेत्रमा उत्पादित अन्नले तीन महिना मात्र खान पुग्ने बताएको छ।
 खाद्यान्न नपुगेपछि छाक टार्न घरबाट बिस्थापित भएका पावाखोलाका ३२ परिवारले तत्काल खाद्यन्न व्यवस्था गर्न माग गरेका छन्।
समितिले मंसिरदेखि फागुन, चैत्रदेखि असार र साउनदेखि कात्तिक महिनलाई बर्गिकरण गरी खाद्य सुरक्षामा ख्याल गर्दै खाद्यान्न आपूर्ति गर्ने जनाएको छ।
सदरमुकाम आउन तीन दिन पैदल हिड्नु पर्ने र यातायात पनि नभएकाले खाद्यान्न आपूर्तिमा समस्या भएको बताउँदै वरिष्ठ कृषि विकास अधिकृत प्रमोदकुमार रिजालले भने,‘यो क्षेत्र खाद्य असुरक्षित छ।’
जिल्लामा तीन लाख ७० हजार चार सय १४ हेक्टर क्षेत्रफलमध्ये ३१ हजार पाँच सय ९६ अर्थात आठ दशमलव पाँच प्रतिशत क्षेत्रफल मात्रै खेतीयोग्य जनिम छ।
यसमध्य १६ प्रतिशत सिँचित, ३० प्रतिशत बर्षायाममा सिँचित र ५४ प्रतिशत असिँचित जमिन छ।
सिँचाइ सुविधा नभएकाले यहाँ अन्न उत्पादन कम हुने गरेको कृषि कार्यालयले जनाएको छ।