एकाबिहानै घरको ढोका अगाडि उभिएका अपरिचित दुई युवकले घरबेटी गीता खड्कालाई बोलाइदिन भनेपछि हेमन्तकुमार श्रेष्ठले आपूmसँग रहेको ल्यान्डलाइनबाट मोबाइलमा फोन गरी कोही मान्छे भेट्न आएको खबर गरे तर घर बाहिर रहेकी गीताले आफू व्यस्त भएकाले भेट्न भ्याउँदिन भन्ने जवाफ फर्काइन् ।
एकले रातो टिसर्ट, रातो क्याप र अर्कोले नीलो कपडा र नीलै क्याप लगाएका अपरिचित युवकद्वयको अनुहार मंगोलियन मूलको जस्तो थियो । घरबेटी घरमा नभएको चाल पाएपछि झोला भिरेका दुवैजना गीता अन्टीसँग कुरा गरी आउँछौं भनेर हिंडे ।
त्यस्तै तीन÷चार दिनपछि फेरि ती दुईजना बिहान करिब ६.१५ बजे ढोका अगाडि आई गीता अन्टीलाई बोलाइदिनु न भन्न थाले । भुइँतलामा बस्दै आएका हेमन्तले ३६०४५८ नम्बरको आफ्नो ल्यान्डलाइन फोनबाट माथिल्लो तलामा रहेकी घरबेटीलाई ३६०४६३ नम्बरमा फोन गरी केही दिनअघि आएका भाइहरू भेट्न आएछन् भन्ने खबर गरेन घरबेटी गीताबाट जवाफ आयो– ‘छैन भनेर फर्काइ दिनु’ ।
गीताको कुरा सुनाउन नपाउँदै उनीहरूले एकाएक हेमन्त र उहाँकी श्रीमती अञ्जलीमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्न थाले । खुकुरी प्रहारबाट ऐया–ऐया भन्दै हेमन्त दम्पती रुन कराउन थाले, जसको रुवाइबाट सुतिरहेकी छोरी ब्युँझिन् । प्रायः ढिलो गरी उठ्ने बच्ची त्यो दिन घटनाका कारण छिटो उठिन । त्यो बीभत्स दृश्य देखेर पापा–मामु भन्दै उनी रुन कराउन थालिन् ।
बच्ची रुन कराउन थालेपछि हेमन्तलाई खुकुरीले हान्ने व्यक्तिले ती सात वर्षीया नाबालिकाको एउटा हातले मुख थुनी अर्को हातको खुकुरीले घाँटीमा हान्न थाले । त्यति नै बेला अञ्जलीलाई खुुकुरी हान्ने व्यक्ति आई ‘छोड्दे यो फुच्चीलाई, काम अरू नै बाँकी छ, भन्दै सख्त घाइते बनाइ नाबालिकालाई बाथरुममा फाली घरबेटी सीतालाई मार्न घरको माथिल्लो तला चढे ।
बच्ची जोडले रोएको सुनेर घरबेटी गीताले– अञ्जली, अञ्जली, के भयो ? भनेर सोधेकी थिइन् माथिबाट । गीताको यही स्वर सुनेपछि उनीहरू माथि चढेका हुन् । निकै चतुर गीता मलाई पनि मार्छन् भन्दै ती व्यक्ति माथि नपुग्दै ट्वाइलेटभित्र छिर्न सफल भइन् । भित्रबाट चुकुल लगाई चोर–चोर, मा¥यो–मा¥यो भन्दै कराउन थालिन् । यसैका कारण ती हतियारधारी व्यक्ति बाहिर निस्कन बाध्य भए ।
घर बाहिर निस्कँदा एकजनाको बुढीऔंला र कान्छी औंलाबाट रगत बग्न थाल्यो । हेमन्त–अञ्जली दम्पतीमाथि खुकुरी प्रहार गर्ने क्रममा उसको औंला काटिएको रहेछ । अलि पर पसलमा पुगी औंलामा पट्टी लगाइरहेका बेला पसल साहुनीले शङ्का लागी सोधिन्– ‘यति बिहानै के भो भाइ ?’ उनीहरूबाट जवाफ आयो– ‘ग्याङफाइट प¥यो’ । ब्यान्डेजले रगत थामिएन । अब उनीहरू पानीको धारो खोज्न लागे, बाटो नजिकै रहेको घरभित्र प्रवेश गरी मुख धोइरहेकी महिलालाई धारो खोल्न लगाई ‘रगताम्य हात धोई’ घटनास्थलबाट एकसय मिटर परबाट ट्याक्सी चढी भागे ।
आजभन्दा ठीक १३ वर्षअघि २०५९ साल असार ३१ गते बिहान सामाखुशी रानीबारी निवासी गीता खड्काको घरको भुइँतलामा भाडामा बस्दै आएका कम्प्युटर इन्जिनियर ३६ वर्षीय हेमन्तकुमार श्रेष्ठ, उहाँकी श्रीमती अञ्जली श्रेष्ठको बीभत्स हत्या र सात वर्षीय छोरीलाई सख्त घाइते बनाई अपराधी फरार भएको घटनाको पृष्ठभूमि हो यो ।
हेमन्त पेसाले कम्प्युटर इन्जिनियर थिए । एउटा सामान्य नेवार परिवारमा जन्मेका हेमन्तकी श्रीमती अञ्जली विदेशीलाई नेपाली भाषा सिकाउने गर्थिन् । दुवैजना पेसामा लागेकाले श्रेष्ठ दम्पतीमा खासै आर्थिक अभाव थिएन । श्रेष्ठ परिवारप्रतिको विश्वासले घरधनी गीताले हेमन्तकै फ्ल्याटको भ¥याङ प्रयोग गरी तलमाथि गर्थिन् । घरको माथिल्लो तलामा जाने बाटो नै हेमन्तकै कोठाबाट थियो । श्रीमानसँगको ठाकठुकका कारण एक्लै बस्दै आएकी गीताका लागि आफन्त भन्नु नै हेमन्त दम्पती थिए ।
त्यस बिहान खुकुरीले आधी गर्धन छिनाएर सुत्ने बेडको भुइँमा रक्ताम्य अवस्थामा ढलेको हेमन्त त्यसभन्दा अलि पर ‘किचन’ नजिक पेट र ढाडमा खुकुरीले छियाछिया पारी रक्ताम्य बनाई ढालिएकी अञ्जलीको मृत शरीर र शौचालयमा रगत बगिरहेको अवस्थामा भेटिएकी छोरीको बीभत्स दृश्य देख्दा घटनास्थल हेर्न पुगेका सर्वसाधारण र प्रहरी सबै चकित भए । त्यस हत्या घटनाको तत्कालै शहरभरि हल्ला फैलियो ।
यस्तो परिवारलाई कसले, किन, कुन रिसइबीले हत्या ग¥यो ? टोलभरि यस्तै चर्चा परिचर्चा हुनथाल्यो । आफन्त तथा चिनजानका छिमेकी रुन कराउन थाले । त्यस्तो दर्दनाक र पाशविक हत्याको तत्कालै छानबिन गरी अपराधीलाई पक्राउ गर्नुपर्ने आवाज उठ्यो । तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक केदारसिंह भण्डारी (हाल एसएसपी) को कमान्डमा टोली परिचालन भयो । हत्यामा प्रयोग भएको एकथान खुकुरी घटनास्थलभन्दा एकसय मिटर पर फेला परे पनि हत्यारा पत्ता लागेन ।
हेमन्त दम्पतीको हत्या पक्कै हो तर हत्यारा को थिए ? यसको खोजी गर्नु प्रहरीका लागि फलामको चिउरा जत्तिकै भयो । घटनाको छानबिन तथा अनुसन्धान गर्न तत्कालीन प्रहरी अपराध अनुसन्धान कार्यालय हनुमानढोका (हाल महानगरीय अपराध महाशाखा) प्रमुख प्रहरी उपरीक्षक रामचन्द्र खनालको संयोजकत्वमा समिति गठन भयो । यो समितिसँगै त्यसपछिको तीन–चार वर्षमा बनेका करिब १२ वटा समितिले हत्याको प्रतिवेदन दिए तर हत्याराको हुलिया बाहेक अन्य प्रमाण जुटाउन सकेन । प्रहरी पनि थाकेको थिएन ।

कसरी पक्राउ परे अपराधी ?
रानीबारी हत्याकाण्ड भएको करिब १० वर्षपछि प्रहरीको कानमा गाइँगुइँ हल्ला आयो । गुण्डागर्दीमा मिलन चक्रे नामले परिचित मिलन गुरुङले बालुवाटारको एक रेस्टुराँमा रानीबारी हत्याकाण्ड गराउनेहरू यी दुईजना हुन् भनी केही व्यक्तिलाई देखाए रे । तिनीहरू को थिए ? प्रहरी रणभुल्ल परे तर मिलनसँग भेट गरी अनुसन्धानमा संलग्न प्रहरीले सोधपुछ गर्दा केही शंका उब्जेकाले अनुसन्धान थप ऊर्जा भने मिल्यो ।
यद्यपि पहिले पनि रानीबारी हत्याको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई मिलनले पोलेको व्यक्तिमाथि शङ्का नलागेको पक्कै होइन । हाम्रो शङ्का ती व्यक्तिमाथि धेरै अगाडिदेखि नै थियो, ब्युरोका प्रमुख हेमन्त मल्लले प्रष्ट पार्दै भन्नुभयो, पर्याप्त आधार र प्रमाण जुटाउन नसक्दा उनीहरूलाई तत्काल पक्राउ गर्न सकिएको थिएन ।
करिब १३ वर्ष लामो यो हत्याकाण्डको साक्षी भनेकै श्रेष्ठ दम्पतीका एक्ली छोरी थिइन् । तत्कालीन घटनास्थलबाट उठेको मुचुल्का, साक्षीको बयान, छानबिन प्रतिवेदन र हुलियाको स्केचलगायतका प्रमाण प्रहरीका लागि अनुसन्धानको आधार थिए तर पनि हत्यारा यही हो भनी ठोकुवाका साथ पक्राउ गर्नु प्रहरीका लागि चुनौती नै थियो ।
यसैबीच २०७१ मङ्सिरमा १८ औं सार्क शिखर सम्मेलन सम्पन्न भए लगत्तै ब्युरो प्रहरी नयाँ तथा पुराना गरी तीनवटा हत्या घटनाको अनुसन्धानमा सक्रिय थियो । ती घटनामध्ये पहिलो प्राथमिकतामा थियो– सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या, त्यसपछि बडिखेल र रानीबारी ।
आफ्नो अथक मेहनत र सक्रियतासँगै प्रहरी ब्युरो न्यायाधीश बमका हत्यारा पक्राउ गर्न सफल भयो । मधेस तराईबाट पक्राउ गरी न्यायाधीश बम हत्याका अभियुक्त दीपककुमार कर्ण र शिव चौधरीलाई काठमाडौं ल्याइयो । सोही क्रममा मानव बेचविखन तथा ओसारपसार मुद्दाका भुवन अधिकारी पनि ब्युरो प्रहरीको हिरासतमा आइपुगे ।
बम हत्याका अभियुक्त कर्ण, चौधरी र अधिकारीबीच एक दिन साँझ ब्युरो हिरासतभित्र वैदेशिक रोजगारमा फसेको रकम कसरी उठाउने ? भन्ने विषयमा छलफल भइरहेको थियो । त्यति नै बेला अधिकारीले केही हप्ताअघि आफूले नयाँबजारमा भेट गरेका व्यक्तिसँग भएको कुराको पोल खोले । उनका अनुसार वैदेशिक रोजगारमा फसेको रकम उठाउन अधिकारीले भाडाको गुण्डा प्रयोग गर्ने विषयमा ती व्यक्तिलाई नयाँबजारस्थित एउटा रेस्टुराँमा बोलाई सहयोग मागेका रहेछन् । सहयोगीसहित रेस्टुराँमा पुगेका ती व्यक्तिले फसेको पैसा उठाउने क्रममा आफूले गरेका कर्तुतको बखान गर्दै अधिकारीसँग एउटा हत्या घटना बाहेक सबैमा सफल भएको तर, रानीबारी मिस ट्रागेट भएको बताएका रहेछन्, अनुसन्धानमा संलग्न ब्यूरो प्रमुख मल्लले प्रस्ट पार्दै भन्नुभयो– प्रहरीले पक्राउ गर्नु अघि नयाँबजारस्थित रेस्टुराँमा अधिकारीसँग अभियुक्तले जुन कुरा गरेको थियो–अधिकारीले सोही कुरा नै कर्ण र चौधरीलाई हिरासतमा सुनाएका हुन् ।
उनीहरूबीच यस्तो कुरा भइरहँदा त्यतिबेला अरूण पाण्डे थिए । सो कुरा उनले पनि डियुटीमा प्रहरी हवलदारले सुने । त्यसपछि उनले नै सोे कुरा ब्युरोको माथिल्लो तहका अधिकृतसम्म पु¥याउने काम गरे । आफ्नै हिरासतबाट यतिसम्मको तथ्य सार्वजनिक भएपछि अनुसन्धानमा संलग्न ब्युरो प्रहरीलाई हेमन्त–अञ्जली हत्याका अभियुक्त पत्ता लगाई पक्राउ गर्नु ढुङ्गो खोज्दा देउता मिले झैं भयो । आफूले शङ्काको घेरामा राखेको व्यक्ति र हिरासतमा अधिकारीले नाम लिएको व्यक्ति एउटै भएकाले उनीहरू पक्राउ गर्न कुनै समस्या परेन ।
हिरासतमा पोल खुलेको व्यक्ति त्यही थियो, जो कुख्यात किलरका रूपमा परिचित दोलखा खारे–६ घरभई बनस्थली बस्ने मनराज गुरुङ । जसलाई प्रहरीले गत चैतको अन्तिम हप्ता पक्राउ गरी सार्वजनिक गरेको थियो । उनकै साथमा सहयोगी रामेछाप फुलासी–३ घर भई हाल नयाँबस्तीमा रेस्टुराँ चलाउँन्दै आएका प्रमेश चौहान पुनः पक्राउ परे । यतिसम्म कि प्रहरीले अभियुक्त मनराजको कोठाबाट रानीबारी हत्याकाण्डका विषयमा प्रकाशित समाचारको ‘कटिङ’ समेत फेला पारेको थियो । यी दुईजना अभियुक्तको पक्राउसँगै रानीबारी हत्याकाण्डको थप यथार्थ बाहिर आयो ।

किन मारिए हेमन्त–अञ्जली ?
घरबेटी गीता र उनका श्रीमान उत्तम खड्काबीच झगडा परेपछि गीताले आफू बस्दै आएको रानीबारीस्थित घरबाट सम्पत्तिका नाममा एक सुको पनि नदिई उत्तमलाई लखेटेकी रहिछन् । त्यसको बदला लिने सोचमा थिए उत्तम । अनुसन्धानमा संलग्न प्रहरी भन्छन्–उत्तमको दाउ नै गीताको हत्या गराउनु थियो । उत्तम र मनराज दुवैजना दोलखावासी भएकाले पुरानै चिनजानका आधारमा उत्तमले श्रीमतीको हत्या गर्न मनराजलाई दुईलाख रुपियाँ दिई गोप्य रूपमा घर देखाई गीतालाई चिनाइदिएका रहेछन् । जुन कुरा मनराजको पक्राउपछि मात्र खुल्यो ।
रकम पाएको २४ घण्टा नबित्दै मनराज र प्रमेश गीताको हत्या गर्न दुई–दुई पटक घरको ढोकामा पुग्दा पनि हत्या गर्न सफल हुन सकेनन् । उता, रकम दिएर विदेश हिंडेका उत्तम भने ‘आज पनि मार्न सकेनौ’ थप कति चाहिन्छ भन, भन्दै दबाब दिइरहेका थिए । पैसाको लोभ र उत्तमको दबाबका बीच त्यही असार ३१ गते उनीहरू बिहान गीताको घर अगाडि पुगेका थिए ।
उनीहरूलाई जसरी पनि गीताको हत्या गर्नुपर्ने थियो । गीताको कोठा जाने बाटो त हेमन्तको कोठाबाट थियो । त्यसैले हत्यारा मनराज र प्रमेश पोल खुल्ने डरले हेमन्त–अञ्जली दम्पतीको हत्या नगरी गीताको हत्या गर्न नसकिने निर्णयमा पुगे । अन्ततः उनीहरूले हेमन्त–अञ्जलीको हत्या गरी उनका छोरीलाई सख्त घाइते बनाई भागे गीतालाई भने भेटेनन् । प्रहरीको अनुसन्धान रिपोर्टमा उल्लेख भएका विवरण हुन् यी ।
राजधानीका डान्स बारमा बाउन्सर (ग्राहक कुट्ने) काम गर्दागर्दै कुख्यात किलर बनेका मनराज र प्रमेशले रानीबारी हत्याकाण्डपछि २०६० साल वैशाखमा गोलढुङ्गाकी लीलामाया गिरीको पनि रकम लिएर हत्या गरेका थिए ।
वैदेशिक रोजगारीबाट कमाएको पैसा लीलामायाले एकलौटी गरेपछि उनका श्रीमान सीतारामले श्रीमतीलाई डर धम्की देखाई तर्साइदिनु, धेरै गरे गाडीले हानेर अपाङ्ग बनाइदिनु भनेर चिनजानको साथी पदम गुरुङलाई अह्राएका रहेछन् । पदमले पनि सो काम गर्न आफ्नो साथी दुर्गा गुरुङलाई अह्राएछन् । दुर्गाले नै पाँच लाख आउँछ एक महिलाको हत्या गर्नु भन्दै त्यस कार्यमा मनराज र प्रमेशलाई परिचालन गरेका थिए । एकलाख रकम दुर्गाबाट बुझेको हप्ता दिन नबित्दै उनीहरूले लीलामायाको हत्या गरे ।
लीलामायाको हत्या अभियोगमा शुरुमा उनका श्रीमान् सीताराम पक्राउ परे, त्यस लगत्तै सोही आरोपमा मनराज र प्रमेश पनि पक्राउ परे । प्रहरीले त्यतिबेला नै रानीबारी हत्याकाण्ड मनराज र प्रमेशले नै हुनसक्ने शङ्का गरेको थियो तर ‘पाप धुरीबाट कराउँछ’ भने जस्तै कुख्यात किलर मनराज र प्रमेशले लीलामाया हत्या घटनाबाट छोटो समयमै मुक्ति पाए पनि रानीबारी हत्याकाण्डमा भने सर्वस्वसहित आजीवन कारावासको माग दाबीसहित मुद्दा दर्ता गरिएको छ ।
पोलिग्राफ टेस्ट, घटनास्थलको ब्लड ग्रुप चेकजाँच र हुलियासँगै घटनाको प्रकृति हेर्दा मनराज र प्रमेशले नै हेमन्त–अञ्जलीको हत्या गरेको पुष्टि भएपछि जिल्ला अदालत काठमाडौंमा बन्द इजालासबाट मुद्दाको बहस सुरु भएको छ । रानीबारी घटनाका तत्कालीन अनुसन्धान अधिकृत तथा हाल केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी केदारसिंह भण्डारी भन्नुहुन्छ–आशा छ, प्रहरीले गरेको मेहनत खेर जानेछैन ।
रानीबारी हत्याका घटनाका योजनाकार उत्तम हाल बेलायत छन् भने गीता टर्की बस्छिन् । घटनाको थप अनुसन्धानका लागि उनीहरूलाई नेपाल झिकाउने पहल भइरहेको छ । यसअघि मनराजले सुन्धारास्थित बेबिलोन डिस्कोका सञ्चालक राकेश लिम्बुको पनि खुकुरी प्रहार गरी हत्या गरेका थिए ।