गिरीघाट (सुर्खेत) असार १७ । लगातार तीन दिनसम्मको वर्षापछि मौसम केही रापिलो बनेको छ। पानी पर्न छोडेपछिको चर्को घाम। यस्तो गर्मीमा पसिनाले निथ्रुक्क भिजेका एक वृद्ध छाताको छहारीमा गिटी कुटिरहेका छन्।
बस्तिमा कोही नयाँ मान्छे प्रवेश गर्ने वित्तिकै उनका आँखा त्यतैतिर जान्छन्। उनलाई लाग्छ, गिटी खरिदका लागि नै ग्राहक आएको हो कि?
तर, बस्ती छिरेको मानिस गिटीका लागि नआएको थाहा पाएपछि भने उनको अनुहारमा निरासा छाउँछ। उनी घरी बाटोतिर आँखा लगाउँछन् त घरी छेउमै रहेको गिटीको थुप्रो हेर्दै लामो सास फेर्छन।
सुर्खेतको गिरीघाटस्थित बाढीपीडितको अस्थायी शिविरमा सोमबार दिउँसो देखिएको दृष्य हो यो। गएको वर्ष साउन अन्तिम साता भेरी नदीमा आएको बाढीका कारण विस्थापित भएकाहरूलाई अहिले छाक टार्नै मुस्किल भएको छ।
सरकारी र गैरसरकारी निकायले राहत उपलब्ध गराउन छोडेपछि खोलामा गिटी कुट्दै आएका यहाँका बाढीपीडित पछिल्लो समयमा गिटी पनि बिक्री हुन छोडेपछि बिहान र बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा छन्।
शिविरमा बस्दै आएका हरिहरपुरका ६५ वर्षीय बाढीपीडित सोमबहादुर सारु असिनपसिन भएर गिटी कुटिरहेका थिए। झण्डै दस दिन भयो, सोमबहादुरको गिटी बिक्री नभएको। गिटी बिक्री नभएपछि उनको भान्सामा चुल्लोसमेत बल्न सकेको छैन।
बाढीपीडितलाई राहत आउन छोडेको पनि लामो समय भएको छ । कात्तिकपछि सरकारी निकायबाट राहतको नाममा केही पनि पाएका छैनन्।
आम्दानीका लागि अन्य कुनै स्रोत नभएपछि छाक टार्न विस्थापित नजिकै रहेको गिरीघाट खोलाबाट ढुंगा बोकेर ल्याउँछन्।
दिनरात गिटी फुटाउने काममा व्यस्त हुने गरेका छन्। अहिले शिविरका अधिकांश विस्थापितका हातभरी ठेला बसेका छन्।
तर, आम्दानीको लागि यो भन्दा अर्को विकल्प नै छैन । हातमा ठेला उठाएर, ज्यान थकाएर कुटेको गिटी पनि बिक्री नहुँदा विस्थापितलाई दुई छाक टार्न मुस्किल हुन थालेको छ।
‘१० दिन भइसक्यो गिटी लिन कोही आएको छैन’ सोमबहादुरले भने, ‘अब त छाक कसरी टार्ने भन्ने समस्या पर्न थालिसक्यो।’
सोमबहादुर मात्र होइन गिरीघाट शिविरमा बस्दै आएका दुई सय परिवार यही समस्याले पिरोलिएका छन्।
गत साउन अन्तिम साता अविरल वर्षासँगै आएको बाढी र पहिरोले घरबार गुमाएर विस्थापित भई शिविरमा बस्दै आएका उनीहरू सबैको आम्दानीको स्रोत नै गिटी बनेको छ।
विस्थापित शिविरमा रहेका त्रिपालका कारण थप समस्यामा परेका छन्। राति सुतिरहेका जयबहादुर विक मध्यरातमा पानीले शरिर भिजाएपछि ब्यूझिए।
झण्डै एक वर्ष पुराना त्रिपाल च्यातिएर आकाशबाट परेको पानी त्रिपालभित्रै परेपछि उनको परिवार रातभर निदाउँन पाएन।
‘त्रिपालबाट पानीको धारा लागेपछि तीन महिने छोरी र दुई वर्षे छोरा काखमा च्यापेर रातभर जाग्राम बस्नुपर्‍यो’ जय र उनकी श्रीमतीले भने, ‘दिउँसोको चर्को घाममा त्रिपाल ताएिर भित्र बस्नै सकिँदैन। पुरानो भएर च्यातिएका त्रिपालले पानी समेत छेक्दैनन्।’