बागलुङ, असार १७ गते । “मेरो १४ वर्षको कृषि पेसामा सबभन्दा खुसीको दिन हो यो” किसान गङ्गाबहादुर थापाले भन्नुभयो – “आज मलाई किसान हुँ भन्दा गौरव छ, म धन्य छु सरकार र कृषि कार्यालयप्रति ।” देशकै पहिलो किसान परिचयपत्र पाउँदा थापा जति भावुक हुनुहुन्थ्यो त्यत्तिकै हर्षले गद्गद् पनि ।

व्यावसायिक किसानलाई परिचयपत्र दिने सरकारी निर्णय पहिलो पटक बागलुङमा कार्यान्वयनमा आएको हो । मुख्य सचिव लीलामणि पौड्यालको हातबाट परिचयपत्र पाउँदा किसानले पेसाको सम्मान र गौरव बढेको महसुस पनि गरे । तित्याङ गाविस–८ का विष्णुमति मगर्नीले परिचयपत्र बुझ्दा पुरस्कार पाएजस्तो अनुभूति भएको बताउनुभयो । “जुगौँजुगदेखि हाम्रा बाजे पुर्खाले कृषि पेसा गर्दै आए पनि बल्ल आएर हामीले किसान हौँ भन्ने परिचयपत्र पाएका छौँ” उहाँले भन्नुभयो ।

परिचयपत्रले कृषिलाई व्यावसायिक बनाउन प्रेरणा र उत्साह बढाएको अगुवा किसान थापाको भनाइ छ । थापाले १४ वर्षअघि पैंयूथन्थाप गाविसबाट बागलुङ नगरपालिकामा आई व्यावसायिक तरकारीखेती सुरु गर्नुभएको हो । “मुख्य गरी तरकारीखेती छ, त्यसबाहेक च्याउखेती पनि गरिरहेको छु” थापाले भन्नुभयो – “हाम्रो मुख्य बजार भनेकै बागलुङ सदरमुकाम हो, हाम्रो उत्पादन बजारलाई पु¥याउन सकिएको छैन ।” थापाले कृषि पेसाबाटै यथेष्ट आम्दानी गर्दै आउनुभएको छ ।

थापाकै नेतृत्वमा बागलुङ नगरपालिका–५ मा किसानको सहकारी पनि सञ्चालित छ । परिचयपत्रले किसानमा नयाँ आशा जगाएको थापाको बुझाइ छ । “अहिले परिचयपत्र पाएका छौँ, यसपछि पनि सरकारले अवश्य हेर्ला, सेवा–सुविधा पनि थप होला भन्ने आशा छ” उहाँले भन्नुभयो । तित्याङकी किसान विष्णुमति पनि सरकारले सस्तोमा बीउ, मल र पेसा गर्न अनुदान दिनेमा आशावादी हुनुहुन्छ ।

“परिचयपत्र पाउने किसानले कृषि ऋण, सहुलियतमा बीउ, मल पाउने भन्ने सुनेका छौँ” विष्णुमतिले भन्नुभयो – “यसले हामीजस्ता किसानलाई ठूलो सघाउ पु¥याउनेछ ।” कृषि अनुदान र बजार व्यवस्थापनमा समेत सहयोग पाइने भएपछि किसान खुसी छन् । व्यावसायिक कृषिप्रति किसानलाई प्रोत्साहित गर्न सरकारले परिचयपत्र दिने नीति ल्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कृषि समूह, कृषि सहकारी र व्यावसायिक फार्ममा आबद्ध किसानलाई परिचयपत्र दिइने वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले बताउनुभयो । परिचयपत्रले सुविधा र अवसर लिन किसानलाई सघाउने उहाँको भनाइ छ । पहिलोचरणमा जिल्लाका नौ हजार ८०० किसानलाई परिचयपत्र वितरण गर्न लागिएको उहाँले बताउनुभयो ।

सरकारले यो वर्ष पाँच विकास क्षेत्रका एक–एक जिल्लाबाट परिचयपत्र वितरण सुरु गर्ने निर्णय गरेको थियो । सोहीअनुसार पश्चिमाञ्चलबाट बागलुङले देशमै पहिलो पटक परिचयपत्र बाँड्न सुरु गरेको हो । “व्यावसायिक कृषि पेसामा लागेका किसानले प्राथमिकताका साथ परिचयपत्र पाउनेछन्” अधिकृत हमालले भन्नुभयो – “आवश्यक परेको खण्डमा पहिलो चरणमै थप किसानलाई समेत परिचयपत्र दिन सकिने व्यवस्था गरेका छौँ ।”

परिचयपत्र पाउने किसानले सरकारले दिने कृषि ऋण, रसायनिक मल, बीउबिजनका लागि सहुलियतपूर्ण ऋण प्राप्त गर्नेछन् । कृषि अनुदान र बजारको उचित व्यवस्थापनका लागि पनि किसानले सहयोग पाउने जनाइएको छ । सरकारले पहिलो चरणमा बागलुङसंगै, पूर्वाञ्चलको धनकुटा, मध्यमाञ्चलको बारा, मध्यपश्चिमाञ्चलको बाँके र सुदूरपश्चिमाञ्चलको डडेलधुराका किसानलाई परिचयपत्र वितरण गर्न लागेको छ । बागलुङमा ५० हजार किसान परिवार छन् । रासस