मुस्ताङ असार १७ । : जोमसोम र कागबेनी बीचमा पर्ने पाण्डुखोला थुनिएपछि सदरमुकाम जोमसोमका सर्वसाधारण त्रसित बनेका छन् । बुधबार दिउँसोदेखि चार घन्टासम्म खोला थुनिँदा जोमसोमका सर्वसाधारण त्रसित बनेका हुन् ।

हिउँदमा जमेको हिउँ माटोसँगै पग्लँदा खोला थुनिने र आफैँ खोलिने हुँदा खोला आसपास र कालीग्ण्डकी नदी किनारका बस्तीलाई उच्च सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक अर्जुन श्रेष्ठले बताए ।

उनका अनुसार बुधबार दिउँसो थुनिएको खोलाले आफैँ निकास खोलेपछि सम्भावित मानवीय र भौतिक क्षति टरे पनि जोखिम भने पूर्णरुपमा हटिसकेको छैन ।

‘ठाडोखोला भएकाले निरन्तर थुनिने र खोलिने क्रम छ, त्यसले कालीगण्डकीको बहावलाई बढाउँछु’, उनले भने, ‘अनि त्यसको असर कालीगण्डकी तटीय क्षेत्रमा पर्छ । जोमसोमका सर्वसाधारणलाई उच्च सर्तकतामा राखेका छौँ ।’

विनाशकारी भूकम्प र त्यसपछिको परकम्पले नदी किनारका जमिनमा थप बाढी आउन खतरा पनि यथावत रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

एक अध्ययनअनुसार जिल्लाका कागबेनी, छोसेर, जोमसोम, मार्फालगायतका बस्ती नदी कटानको उच्च जोखिममा परेका छन् ।