१७ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कका कर्मचारीमाथि दुर्व्यवहार गर्दा पक्राउ परेका कांग्रेस सभासद कौशर शाहका छोरालाई छुटाउन अध्यागमन अधिकारीहरुमाथि दबाव परेको छ ।
बुधवार राति एयर अरेबियाको जी ९८६३ नम्बरको उडानबाट दुबई जान लागेका जुबेद खानको पासपोर्टमा दुबईको भिसा हेर्न लाग्दा अध्यागमन अधिकृत छत्रवहादुर शाहमाथि सभासदपुत्रले दुर्व्यवहार गरेका थिए ।
भारतीय पासपोर्ट र नेदरल्याण्डको पीआर बोकेका शाहले अन्य कर्मचारी र सुरक्षाकर्मीलाई समेत हातपातको प्रयास गरेका थिए । अन्दाजी ३० वर्षको शाहले करीव डेढ घण्टासम्म अध्यागमनमा उद्दण्डता प्रदर्शन गरेका थिए ।
‘मेरो भिसा हेर्ने तँ को होस् ?’ भन्दै जुबेदले अध्यागमन अधिकृतलाई कठालो समाउन खोजेको स्रोतले जनाएको छ । उनलाई तत्कालै प्रहरी आएर नियन्त्रणमा लिएपछि अध्यागमन डेस्कमै पुगेकी सभासद कौशर शाहले गल्ती भयो भन्दै छाडिदिन आग्रह गरेकी थिइन् ।
त्यसक्रममा जुबेदले कर्मचारी र अनुसन्धान अधिकृतहरुलाई अश्लील गालीगलौज समेत गरेपछि उनलाई छाड्न नसकिने जानकारी अध्यागमन अधिकारीले सभासद शाहलाई दिए ।
सभासदले माथिल्लो तहबाट दबाब दिन लगाए पनि पीडित कर्मचारीले छाड्न नमानेपछि उनलाई राति नै कालिकास्थानस्थित अध्यागमनको हिरासतमा लगिएको स्रोतले जनाएको छ ।
प्रहरीलाई बुझाउनुपर्नेमा अध्यागमनको हिरासत
छोरालाई छुटाउन सभासद शाहले प्रधानमन्त्रीसम्म हारगुहार गरिसकेको स्रोतले जनाएको छ । ‘गल्ती स्वीकार गराएर छाड्न दबाव आएको छ, हामीले थुनेर राख्ने बलियो आधार पनि छैन,’ एक अधिकृतले भने ।
अध्यागमन स्रोतका अनुसार कर्मचारीमाथि दुर्व्यवहार गर्ने जुबेदलाई अध्यागमनको हिरासतमा नपठाई प्रहरीलाई जिम्मा लगाउँदा कारवाही हुन सक्थ्यो । ‘प्रहरीलाई जिम्मा लगाएर पठाएको भए हातपात र दुर्व्यवहारमा कारवाही हुन सक्थ्यो,’ स्रोतले भन्यो, ‘यहाँ त नक्कली कागजपत्र बोकेको भएमात्र कारवाही हुन्छ, नत्र कारवाही गर्ने आधार हुन्न ।’