१६ असार, काठमाडौं । बागलुङ जिल्ला विकास समिति भित्र गुम्सिएर रहेको भ्रष्टाचार एक्कासी छताछुल्ल (भाइरल) बनेपछी भ्रष्टाचारमा संलग्न रहेका र मुछिएकाहरुमा त्राश फैलीयको छ । उपभोक्ताहरुको हितमा जिल्लामा क्रियाशील रहेको जनलेखा परीक्षण मन्चले गत आईतवार महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख भएका आर्थिक अनियमितताका कुराहरुलाई एक प्रेस विज्ञप्ती मार्पत सार्वजनिक गरेपछी कर्मचारीबर्गमा खैलाबैला मच्चिएको हो ।
महालेखाको प्रतिवेदनमा उल्लेख भएका आर्थिक अनियमितताका कुराहरु गत आर्थिक वर्ष २०७०।७१मा भए गरिएका हुन् । तत्कालीन स्थानीय बिकास अधिकारी पुण्यविक्रम पौडेलको कार्यावधि भित्र भएका उल्लेखित नियम विपरीतका कामहरुमा संलग्न दोषिहरुलाई कानूनी कार्बाही गरिनु पर्ने माग चर्को रुपमा उठिरहेको बेला सोमबार अख्तियारको टोली जिविसमा आएर कागजात कब्जामा लिएको छ । स्थानीय विकास अधिकारी भरत गौतमले पत्रकारहरुको जिज्ञासा मेटाउने क्रममा तत्कालीन समयमा केहि अनियमितता भएको स्वीकार गर्दै त्यस सम्वन्धमा छानविन गरिरहेको समेत खुलासा गरेका छन्। एकातिर स्थाविअ गौतमले यस्तो बताई रहेका छन् भने अर्कोतिर जिविस भित्र व्यापक भ्रष्टाचार भएको समाचार प्रशारण, प्रकाशन गर्ने केहि स्थानीय सन्चारमाध्यमका प्रमुखहरुलाई ‘हाम्रो समाचार सम्प्रेषण गरेर बेईज्जती गर्नेहो भने त्यस्ता सन्चारमाध्यमहरुलाई जिविसले अब आर्थिक सहयोग (विज्ञापन, चन्दा, दान) नदिने धम्की दिएकोपनि रहस्योद्घाटन भएको छ । स्थाविअ गौतम यस आर्थिक अनियमिततामा संलग्न छैनन् भने छानविनको लागि उनले सहयोगीको भूमिका निर्वाह गर्नु पर्छ । अनियमितता भएको स्वीकार पनि गर्ने अनि बास्तविक समाचार छाप्ने र लेख्नेहरुलाई अब सहयोग नगर्ने घुर्कीपनि लगाउने हो भने उनको नियतमा पनि खोट छ भन्नु अत्युक्ती हुने छैन । जिविसले कुन सन्चारमाध्यम र कुन पत्रकार सन्चारकर्मीलाई के कति रकम आर्थिक सहयोग गरेको छ वा गर्दै आएको छ त्यस्को यथार्थ विवरण स्थाविअ गौतमले सार्वजनिक गर्नु जरुरी छ ।
जिविसको आर्थिक अनियमितताका समाचार सम्प्रेषण नगरुन भनेरै सन्चारमाध्यम र सन्चारकर्मीहरुलाई आर्थिक सहयोग दिएको र दिने गरेको हो भने यो त झनै डरलाग्दो भ्रष्टाचार भएन र ? भ्रष्टाचारको ढाकछोप गर्न मिडियाहरुको मुखमा बुझो लगाउने गरेको हो भने जिविसको नियतप्रति सम्पूर्ण पत्रकार जगत सजग र सतर्क हुनु आवश्यक छ । एकदुई जना चाटुकारले गर्दा आमसन्चारमाध्यमहरु लान्छित हुनुपर्ने स्थिति आउन दिनु हुन्न-(१३ असार प्रकासित )समाचार तल :
यस्तो छ जिविस बाग्लुङमा भएको भ्रष्टाचारको नालीबेली
जिविस कर्मचारीलाई १२ लाख पर्ने सुनको पदक !
बाग्लुङ जिल्ला विकास समितिमा आर्थिक वर्ष ०७०/७१ मा व्यापक भ्रष्टाचार भएको सार्बजनिक भएको छ ।
महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणबाट विकास निर्माण, कर्मचारीको सम्मान र भत्ताको नाममा लाखौं रकम अनियमितता भएको पत्ता लागेको हो ।
आयोजनागत रुपमा गर्नुपर्नेमा सो नगरी शिर्षकगत रुपमा बजेट विनियोजन गरी ८ करोड ५१ लाख रुपैयाँ भन्दा धेरै रकम मनपरी तरिकाले खर्च गरिएको छ । यस्तै ३५ लाख रुपैयाँसम्मका कार्यक्रम मात्र उपभोक्ता समिति मार्फत गराउन पाईनेमा झण्डै डेढ करोड रुपैयाँ लागतको छिस्ती खानेपानी योजना उपभोक्ता समितिलाई दिइएको छ ।
त्यतिमात्रै होइन जिविसका कर्मचारी लेखराज पन्तलाई १२ लाख २२ हजार ८०५ रुपैयाँ पर्ने सुनको पदकबाट सम्मान गरिएको छ भने बिभिन्न व्यक्ति र संस्थालाई १२ लाख रुपैयाँ भन्दा धेरै जथाभावि बाँडिएको छ ।
यस्तै बाग्लुङका ५९ गाविसहरुको हालसम्म एकपटक पनि आन्तरिक लेखापरिक्षण गरिएको छैन ।