काठमाडौ, जेष्ठ २६ – ३० दलीय मोर्चामा आवद्ध एमाओवादी र फोरम लोकतान्त्रिक बाहेकका दल आज बस्ने संबिधानसभाको बैठकमा उपस्थित नहुने भएका छन् । प्रमुख राजनीतिक शक्तिबीच नयाँ संबिधान निर्माणको बिषयमा हिजो भएको सहमतिप्रति असन्तुष्ट ति दलले आजको बैठकमा सहभागी नहुने बताएका हुन् ।

मोर्चामा आवद्ध एमाओवादी र फोरम लोकतान्त्रिक बाहेकका दलहरुको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । मोर्चामा आवद्ध अधिकांश दल संबिधानसभामा प्रतिनिधित्व गर्दैनन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयस त्रिपाठीले संबिधानसभामा नजाने ३० दलीय मोर्चाको यसअघिकै निर्णयको आधारमा आजको बैठकमा सहभागी नहुने निर्णय भएको बताए ।

‘चालू आवस्थामा संबिधानसभा सभामा नजाने भनेर मोर्चाले यसअघि गरेको निर्णयको आधारमा नै आजको बैठकमा अनुपस्थित हुने भएका हौं’, उनले भने ।

सद्भावना पार्टीका महासचिव मनिष सुमनले मोर्चाको बाँकी कार्यक्रम आजको बैठकबाट तय गर्ने जानकारी दिए ।

संघीयतासहित नयाँ संबिधानका विवादित बिषयमा प्रमुख चार राजनीतिक शक्तिले हिजो बालुवाटारमा गरेको सहमतिप्रति एमाओवादी र फोरम लोकतान्त्रिकबाहेकका मोर्चामा आवद्ध दलहरु असन्तुष्ट छन् ।