रोल्पा, जेठ २४। रोल्पा डुब्रिङका महिलालेे सामूहिक अदुवा खेती शुरु गरेका छन्। हरियाली महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध महिला सदस्यले वार्षिक ८ हजार रुपैयाँ तिर्ने गरी जग्गा भाडा लिएर १६ क्विन्टल अदुवा रोपेका हुन्। उनीहरूले ३ रोपनी भन्दा बढी जग्गामा अदुवा रोपेका छन्।

संस्थाकी अध्यक्ष दिलमाया भण्डारीका अनुसार पहिलो चरणमा संस्थाका १ सय ५० जना महिलाको लगानीमा अदुवा खेती सुरु गरिएको हो। भण्डारीले भन्नुभयो ‘भर्खरै रोपिएको अदुवा खेतीबाट कम्तीमा २ देखि ३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ।’

 

घरमा जस्तै मेहनत गरेर समूहको लक्ष्य हासिल गर्ने संस्थामा आबद्ध भोनमरी घर्ती मगरले बताईन।

aduwa

अदुवा खेतीबाट राम्रै आम्दानी भएमा सामूहिक आयआर्जन बढाई जीवनस्तर सुधार्ने खालका अन्य व्यवसाय गर्ने समूहको योजना छ।

समूहमा रहेका ३ सय ६० जना महिला मध्ये ३ सय महिलाले शेयर खरिद गरेका छन्। यो संस्थाले न्यून आय भएका महिला सदस्यलाई कम ब्याजदरमा ऋण दिने गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

सामूहिक खेतीले आय–आर्जनमा मात्र होइन, महिला एकताको सन्देश समेत दिएको महिला विकास निरिक्षक तारा सुनुवारले बताईन।