२४ जेठ, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ ।शनिबार राति भएको फाइनलमा युभेन्टसलाई पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक उपाधि मात्र उचालेन, एकै सिजन देशको लिग, कपसँगै च्याम्पियन्स लिग जितेर ट्रेबलको कीर्तिमान बनाएको छ ।चौथो मिनेटमा नै राकिटिकले गोल गरेपछि बार्सिलोनाको सहज जितको अनुमान गरिएको थियो । युभेन्टसको डिबक्समा बलमा नेयमारको पासमा इनिस्टाले मिलाइदिएको बलमा राकिटिकले बन टच गोल गरे ।दोस्रो हाफको ५५ औं मिनेटमा माराटाले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काए । कार्लोस टेभेजको प्रहारमा बार्सिलोनाका गोलरक्षकले रोक्दा फर्किएर आएको बलमा अनमार्क रहेका मोराटाले क्लोज रेन्जबाट गोल गरेका हुन् ।तर, खेलको ६८ औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । लिओनल मेस्सीको प्रहार बुफिनले रोकेपछि बल नियन्त्रणमा लिन सकेनन् र बाउन्स भएको बलमा स्वरेजले गोल गरे ।अन्तिम मिनेटमा नेयमारले गोल गरेपछि बार्सिलोना विजयी भयो । युभेन्टसको सबै डिफेण्डर अगाडि बढेको मौकामा मध्यभागमा बल पाएका नेयमारले डि बक्स एरिया नजिकै पेड्रोसँग पास खेल्दै गोल गरेका हुन् ।