२२ जेठ, काठमाडौं ।लाखौं नेपालीले रोजगारी गरिरहेको मलेसियामा शुक्रबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ  ।
मलेसियाको सबाह राज्यको बोर्नियो समुद्री तट नजिकैको माउन्ट किनाबुललाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पले मलेसियाका सडक र भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पले सडकहरु चिराचिरा परेका छन् । तर, भूकम्पबाट भएको मानवीय क्षतिबारे अहिलेसम्म खबर प्राप्त भएको छैन ।
भूकम्पपछि माउन्ट किनाबुल क्षेत्रमा मानिसहरु फसेको तथा घाइते भएको आशंकामा उद्धार र खोजी कार्यलाई तीब्र पारिएको छ ।
अमेरिकन भूगर्भ विभागको सर्भे अनुसार पृथ्वीको १० किलोमिटर तल गएको भूकम्पले मलेसियाको अधिकांश भाग हल्लाएको हो । भूकम्पको केन्द्रबिन्दु मलेसियन राज्य सबाहको राजधानी कोटा किनाबालुबाट ५४ किलोमिटर पुर्वमा रहेको छ ।