२२ जेठ, काठमाडौं । सरकारले दुई सातापछि हुने दाता सम्मेलनमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनलगायत विश्वका नेताहरूलाई बोलाउने भएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले चिनियाँ समकक्षी ली, भारतीय समकक्षी मोदी, राष्ट्रसंघका महासचिव बान, विश्वबैंकका अध्यक्ष डा. जिम योङ किम, युरोपेली कमिसनका अध्यक्ष जँ क्लाउडे जंकर र एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओलाई सम्मेलनमा सहभागी भइदिन निमन्त्रणा पठाउन लागेको छ ।
‘निमन्त्रणापत्र तयार भइसकेका छन्। प्रधानमन्त्रीले हस्ताक्षर गरेपछि सम्भवत: शुक्रबार पठाइनेछ’, परराष्ट्र स्रोतले भन्यो।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले छिमेकी चीन र भारतका प्रधानमन्त्रीलाई छिट्टै निमन्त्रणापत्र पठाइने जानकारी दिए। ‘प्रधानमन्त्रीज्यूले चिनियाँ र भारतीय समकक्षीलाई सम्मेलनमा सहभागी हुन चाँडै निमन्त्रणा गर्नुहुनेछ’, उनले भने।
विनासकारी भूकम्पपछि पुनर्निर्माण र पुनस्र्थापनामा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव जुटाउने उद्देश्यले गर्न लागिएको उक्त सम्मेलन सफल पार्न सरकारले यसअघि नै अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिसकेको छ। सरकारले यसअघि दुई खर्ब रुपैयाँको राष्ट्रिय पुनर्निर्माण कोष खडा गर्ने निर्णय गरेको छ।
ध्वस्त भएका संरचनाको पुनर्निर्माण तथा घरबारविहीन भएका भूकम्पपीडितहरूको पुनस्र्थापनाका लागि स्थापित उक्त कोषमा सहयोग पुर्याइदिन सरकारले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिसकेको छ।