कोहलपुर, २० जेठ, यातायात ब्यबस्था कार्यालयले वितरण गर्ने सवारी चालक अनुमती पत्र (लाईसेन्स) वितरणमा ब्यापक चलखेल भएको पाइएको छ । लाईसेन्स वितरणमा अहिले यातायात व्यवस्था कार्यालय र प्रहरीका बीच जुहारी नै चल्ने गरेको छ ।

भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगञ्जले खोलेको सवारी चालक अनुमती पत्र वितरणमा प्रहरीले आफनो हैकम जमाउन थालेपछी यातायात र प्रहरीका बीच पानी बाराबारको वातावरण श्रृजना भएको छ । सवारी चालक अनुमती पत्रका लागि प्रयोगात्मक स्थल कोहलपुरमा प्रहरीका उच्च पदस्थ अधिकारीहरु नै आएर आफना अधिकृतहरुलाई प्रयोगात्मक स्थलमा राख्न थालेपछी यातायात र प्रहरीका बिच खटपटी शुरु भएको हो ।

यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्था अनुसार सवारी चालक अनुमती पत्र वितरणका लागि यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुखको अध्यक्षतामा सवारी चालक अनुमती पत्र परिक्षा समिति रहने प्रावधान छ । जसमा यातायातकै मेकानिकल ईन्जिनीयर सदस्य सचिव जिल्ला स्थित ट्राफिक प्रहरीका प्रमुख सदस्य रहने गरी ३ सदस्यीय सवारी चालक अनुमती पत्रपरिक्षा समिति रहने उल्लेख छ ।

तर परिक्षा समितिको मर्यादालाई नाघेर क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हुँदा हुँदै आफ्ना अधिकृतहरु परिक्षण स्थलमा राखेपछी यातायातका कर्मचारीहरु रुष्ट भएका छन् ।परिक्षण स्थलमा जिल्ला प्रशासन, क्षेत्रिय ट्राफिक, जिल्ला ट्राफिक, क्षेत्रिय प्रहरीको अनुसन्धान ब्युरो लगाएतको टिम परिचालन हुने गरेको छ । उनिहरुबीच एक आपसमा कुराकानी मिल्न नसक्दा बेलाबेलामा प्रयोगात्मक परिक्षा समेत रोकिने गरेको एक कर्मचारीले बताए । समिति हुँदा हुँदै एक पछी अर्को निकाय थपिदै जाँदा लाईसेन्स वितरणमा चारै तिरबाट चलखेल भैरहेको बुझिन आएको छ ।केही समय अगाडि मात्रै लाईसेन्स बनाईदिन्छु भन्दै सर्वसाधरणबाट लाखौ रुपैया असुल गर्ने प्रहरी हवल्दार शेर बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो । तर उनि पक्राउ परेको केही दिनमै छुटिसकेका छन् । स्रोतका अनुसार बस्नेत क्षेत्रिय प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरिक्षक (डिआईजी) केशब प्रसाद अधिकारीका निकटका व्यक्ति हुन् ।

बस्नेत अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत छन् । त्यस्तै प्रहरीले गत जेष्ठ १२ गते सयौ युवाहरुलाई लाईसेन्स बनाईदिन्छु भन्दै लाखौ रुपैयाँ असुल गर्ने मुनब्बर अलि हल्वाईलाई पनि छाडिदिएको छ ।सवारी चालक अनुमती पत्रको प्रयोगात्मक स्थलमा क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका पहरी उपरिक्षक भोजजङ्ग शाह आफै खटिने गरेका छन । उनलाई प्रयोगात्मक परिक्षामा खटिनका लागि डिआईजी अधिकारीले निर्देशन दिएको बुझिन आएको छ । प्रहरी उपरीक्षक शाहले प्रयोगात्मक परिक्षालाई ब्यबस्थित र म¥यादीत बनाउनका लागी आफु खटिएको बताए ।

यसैबीच प्रयोगात्मक कक्षा अर्थात सवारी चालक अनुमती पत्रका लागि ट्रायल भैरहेका बेला १ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । आफनो भान्जाको ट्रायल दिन आएका बाँके मनिकापुरका अर्जुन रोकाय सोमबार पक्राउ परेका हुन् । रोकायले मनिकापुर ८ का बिशाल गुरुङ्गका नाममा ट्रायल दिन आएका थिए । पक्राउ परेका रोकायलाई यातायात व्यवस्था कार्यालयको जिम्मा लगाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक गणेश महताले जानकारी दिए ।