स्वास्थ्य मानिसको सबै भन्दा ठूलो धन हो, तर स्वस्थ्यको विषयलाई लिएर मानिस कतिको सुरक्षित छ कति व्यवस्थित छ त भनेर हेर्ने हो भने हाम्रो नेपाली समाजमा एकदमै न्यून भेटिन्छ वा भनौ भेटिन गाह्रो नै छ । न कसैले स्वस्थ रहनको लागि नियमित व्यायाम नै गरेको छ न त रोग लागि सकेपछिको लागि स्वास्थ्य वीमा नै । नेपालको मुख्य मुख्य शहरमा बसोबास गर्ने र अफिसियल वर्कर्सले त झनै यो विषयमा संवेदनशील भएर सोच्नु पर्ने अवस्था छ । किनकि प्रविधिको विकाससँगै हाम्रो शारीरिक व्यायाम नहुनु र रोगहरुले हामीलाई आक्रमण गर्ने खतरा बढिरहेको छ । हामी दैनिक सवारी साधनको प्रयोग गरी अफिस जान्छौं, अफिसमा कम्फर्टेवल कुर्सि, घर वाहिरको खाजा–खाना आदिको कारण हाम्रो शरीरले चाहिने भन्दा बढि आराम लिइरहेको हुन्छ जसको कारण आवश्यक व्यायाम पुग्दैन । आवश्यक व्यायाम नपुग्नु भनेको शरीर चुस्त दुरुस्द नहुनु हो जसले शरीरको रोगसँग लड्ने (रोग प्रतिरोधात्मक) शक्ति नष्ट गरिरहेको हुन्छ । र हामीलाई सामान्य देखि अति संवेदनशील रोगहरु समेत लाग्न सक्छ ।

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु राम्रो हो । रोग लाग्न नदिन के गर्ने त ? रोग कति खेर लाग्छ कस्तो खाले रोग लाग्छ भन्ने हामीलाई थाहा हुँदैन यदि त्यस्तो हुँदो हो त हामी कहिलै रोगी नै हुने थिएनौ तर पनि रोग भनेको सामान्यतया हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमताको कमि हुनुले नै लाग्ने हो, यदि हामी शारीरक रुपमा कमजोर छौ भने हामीलाई सामान्य रुघाखोकीले पनि ग्रस्त पार्न सक्छ । त्यसैले यसैलाई आधार मानेर पनि हामीले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको लागि दैनिक त्यही अनुसारको खानपिनमा ध्यान दिनु जरुरी छ साथै दैनिक शारीरक व्यायाम गर्नु आवश्यक छ । शारीरक व्यायामले हामीलाई शारीरिक तन्दुरुस्त राख्छ जसले गर्दा धेरै हदसम्म स्वथ्य रहन सहयोग गर्छ ।

शारीरक व्यायाम त गर्ने तर कुन व्यायाम चाँहि आफ्नो लागि उपयुक्त भन्ने कसरी छुट्याउने भन्ने विषयमा प्रश्न उठ्न सक्छ । हुन पनि हो कुन व्यायाम गर्ने त ? कुन व्यायाम गर्ने भन्ने विषयमा आफ्नो उमेर अनुसार पनि छुट्याउन सकिन्छ साथै आफूलाई कुनै रोग लागि सकेको छ भने ती रोगको आधारमा पनि त्यही अनुसारको व्यायाम गर्नुपर्ने हुन्छ अन्यथा त्यसले नकरात्मक असर पनि पार्न सक्छ । सामान्य तथा आफैले गर्ने हो भने मर्निङ वाक, साइकिलिङ्ग, पौडी अति नै सरल र उपयुक्त व्यायामहरु हुन् । यसको साथै क्लबहरु तिर गई इन्सटक्टरको साथमा गर्ने हो भने योगा, जीम, एरोविक्स, जुम्बा, कार्डियो, डान्स आदि गर्न सकिन्छ । यसमा पनि जीम भनेको सबै उमेर समूहले गर्न नमिल्ने व्यायाम हो । एरोविक्स, जुम्बा, कार्डियो भनेको म्यूजिकको रिदममा गरिने एक्सरसाइज हो । यी एक्सरसाइजहरुमा बच्चा देखि वृद्धासम्मले पनि गर्न सक्छन् त्यसको लागि इन्सटक्टर भने आवश्यक हुन्छ । जुम्बा, कार्डियो पनि वृद्धाहरुको लागि केही असजिलो हुन सक्ने भएकोले बच्चादेखि वृद्धासम्मको लागि उपयुक्त एक्सरसाइज भनेको एरोविक्स हो जुन म्यूजिकको रिदममा गरिने डान्स फेवरको इक्सरसाइज हो । रेगुलर एरोविक्स गर्नाले इस्टामिना बढाउने, फेसमा चमक ल्याउने, शरीरमा स्फुर्ति ल्याउने, मसल्स टाइट गराउने, शरीरलाई सेपमा ल्याउने आदि जस्ता विभिन्न कुराहरु साथै विभिन्न रोगहरु लागेको छ भने पनि त्यसको कन्ट्रोलको लागि एरोविक्स गर्नुपर्ने हुन्छ ।

आजभोलि नेपालको मुख्य – मुख्य सहरहरुमा पनि हेल्थ क्लबहरु खुलिरहेका छन् । र यि क्लबहरुमा एरोबिक्सको सुविधा प्राय सबै जसोमा पाइन्छ । बच्चादेखि वृद्धासम्म सबैले गर्न सक्ने, डान्स फेवरमा हुनु, शरीर तन्दुरुस्तिको लागि उपयुक्त भएकोले आजभोलि एरोविक्स धेरै लोकप्रिय बन्दै गएको छ । मनोरञ्जनको साथमा आफ्नो स्वास्थ्य शरीरको लागि उपयुक्त व्यायाम भएकोले एरोविक्स सबैको रोजाई बनेको छ ।

ursm.ss@gmail.com
(लेखक विगत १० वर्षदेखि प्रोफेशनल एरोविक्स इन्स्टक्टर हुनुहुन्छ ।)