काठमाडौं असार १५ । नेपाल र नेदरल्याण्डबीच मंगलबार पहिलो ट्वेन्टी–ट्वेन्टी खेल हुँदैछ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटको तयारीमा रहेको नेपालले नेदरल्याण्डसँग चार वटा ट्वेन्टी–ट्वेन्टी खेल खेल्नेछ । मंगलबार हुने पहिलो खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ ।
दुवै देशले यो खेललाई आयरल्याण्ड र स्कटल्याण्डमा जुलाई ९ देखि हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिताको तयारीका रुपमा लिएका छन् । नेपालीले विश्वकप छनौटको तयारीसँगै ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय बरियतामा प्रवेश पाउने उद्देश्य सहित नेदरल्याण्डसँग चार खेल खेल्न लागेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को नियम अनुसार तोकिएको समयमा ८ खेल खेल्ने राष्ट्र बरियतामा प्रवेश गर्ने छन् । नेपालले अहिलेसाँ चार ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेको छ ।
नेदरल्याण्डसँगको चार खेलको सिरिज पुरा भएमा नेपालले विश्व बरियतामा प्रवेश पाउनेछ । नेपालले गएको जनवरीमा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा नेदरल्याण्डलाई पराजित गरेको थियो । मंगलबारको खेलमा नेदरल्याण्ड बलियो मानिएको छ । यसअघि भएका दुई ट्वेन्टी–ट्वेन्टी खेलमा नेदरल्याण्डले नेपाललाई पराजित गरेको थियो ।