काठमाडौं असार १५ । आज असार १५, देशभर धान दिवस धान रोपाइँ गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९६६ लाई भोकमरीबाट मुक्त भन्ने नारासहित धानबालीलाई वर्ष बालीको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालले विसं २०६२ देखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।

वर्षैपिच्छे कृषिमा परनिर्भरता बढ्दैगएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउने प्रचलन चलेको हो ।

धानबालीका लागि योग्य कूल करिब १४ लाख २५ हजार हेक्टर जग्गामध्ये असार १४ सम्म ८ प्रतिशतमात्र रोपाइँ भएको कृषि मन्त्रालयका सहप्रवक्ता शङ्करप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन वृद्धि हुँदा कूल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ । घट्दा आर्थिक स्थिति घट्छ । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ । पहिला धान चामल निर्यात गरिन्थ्यो । हाल प्रतिवर्ष १० लाख मेट्रिक टन चामल आयात गरिन्छ । यस वर्ष नेपालले भारतसँग करिब १४ अर्बको चामल आयात गरेको कृषिमन्त्री हरिप्रसाद पराजुलीले राससलाई बताउनुभयो । उहाँले अबको तीन वर्षमा नेपाल धानमा पूर्ण आत्मनिर्भर हुने दाबीसमेत गर्नुभयो ।

नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ । सन् १९६६ देखि २००९ सम्म अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र ९इरी०का धानका जातहरू सदुपयोग गरी विश्वका ७८ देशमा ८६४ प्रकारका धानका जात सिफारिस भएका छन् । नेपालमा सिफारिस भएका ८६ जातमध्ये सातथरीका मात्र रैथाने धानको खेती हुने गरेको धान विशेषज्ञ भोलामान सिंह बस्नेतले राससलाई जानकारी दिनुभयो ।

इरीले अनुमान गरेअनुसार संसारमा करिब एक लाख ४० हजार प्रकारका रैथाने धानका जात छन् र सोमध्ये एक लाख १७ हजार प्रकारका रैथाने जात इरीले आफ्नो जीनबैंकमा सङ्कलन गरिराखेको छ ।

नेपालको ७२ जिल्लाबाट सङ्कलन गरिएका करिब दुई हजार ९६३ प्रकारका रैथाने जातका बीउ फिलिपिनस्थित इरी, जापान र इटली, रोम, नर्वेको स्भालबार्डको जीनबैंकमा राखिएका छन् ।

संसारमा कूल तीन अर्ब पाँच करोड जनसङ्ख्याको प्रमुख खाद्यान्न बाली धान हो । एसियाली देशमा ९० प्रतिशत धानको उत्पादन तथा खपत हुन्छ । धेरै धान उत्पादन हुने देश चीन हो । कृषि क्षेत्रको अन्नबालीमध्ये धानको योगदान ५२ प्रतिशत छ ।

संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ । २५ डिग्री तापक्रमदेखि ३२ डिग्री तापक्रमभित्र रही धानखेती गर्न सकिन्छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा र सबैभन्दा कम मुस्ताङ जिल्लामा हुन्छ ।

सार्क राष्ट्रमा सबैभन्दा धेरै धान उत्पादन गर्ने देश भारत र बङ्गलादेश हुन् ।

युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा प्रचुर जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीकरण, आकासे खेतीमा परनिरर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बिउविजन तथा मलखाद्य एवम् कृषि अनुदानको राम्रो व्यवस्था नहुनु, किसानले उचित मूल्य प्राप्त गर्न नसक्नु, सरकारी उदासिनता र शिक्षित वर्गहरूबाटै कृषि पेसालाई उपहास गरेका कारण कृषि उत्पादकत्व बढाउन नसकिएको कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले बताउनुभयो ।

सन् २०५० मा विश्वको जनसङ्ख्या नौ अर्बभन्दा बढी पुग्ने अनुमान गरिएको छ । त्यसबखत हालको भन्दा ७० प्रतिशत उत्पादन बढाउनुपर्ने हुुुन्छ, । घट्दो खेतीयोग्य जमिनबाट बढ्दो जनसङ्ख्यालाई खुवाउन र आयआर्जनमा वृद्धि गराउन ज्ञान, प्रविधि र विज्ञानमा आधारित खेती गर्नु अति जरुरी भइसकेको छ ।

नेपालको छैठौँ कृषि गणना २०६८– मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ । राष्ट्रिय कृषि गणना २०६८ ले १० वर्षमा एक लाख २९ हजार हेक्टर उर्बर जमिन बाँझो भएको र एक लाख १६ हजारले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख गरिएको छ ।

छैटौँ कृषि गणनाले ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेको भएपनि ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको जनाएको छ । ४२ प्रतिशत कृषकले आफू व्यावसायिक कृषि गर्न आफूलाई ऋण उपलब्ध नभएको जनाएको तथ्याङ्कमा उल्लेख छ ।

दहीच्युरा खाइने

कृषि प्रधान देश नेपालमा आज दहीच्युरा खाएर धान दिवस देशभर मनाइँदै छ ।

केही वर्षयता धान दिवसमा रुपमा मनाउँदै आएको असार १५ को संस्कृति नेपालीहरूको मौलिक दिवसमा रुपमा विकसित हुँदै गएको छ ।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार असार १५ को संस्कृति नेपालमा प्राचीन समयदेखि मनाउँदै आएको हो ।

“नेपालमा ऋतु परिवर्तनसँगै जोडिएका संस्कृतिमध्येको असार १५ को संस्कृति पनि आफँैमा महत्वपूर्ण संस्कृति हो । वर्षातको समयमा विशेष गरी धान रोपाइँले उत्कर्ष पाउने समयमा असारे गीत गाएर मनोरञ्जनका साथ रोपाइँ जात्रा गर्ने, दहीच्युरा खाने यहाँको छुट्टै विशिष्टता हो” – उहाँले भन्नुभयो । रासस