काठमाडौं असार १३ । आगामी शुक्रवार हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा भवानी राणा,पशुपती मुरारका र भाष्करराज राजकर्णिकारले उम्मेदवारी दर्ता गरेका छन्।

शनिवार ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय राखिएकोमा राणा,मुरारका र राजकर्णिकारको उम्मेदवारी परेको हो। तीनै उम्मेदवारले आफुले सहमतीको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिएका छन्। निर्वाचन हुने दिन आगमी शुक्रवार विहानसम्म उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन समितिले जनाएको छ।

अध्यक्षका प्रत्यासी मध्ये राणा अहिले महासंघको कृषि उद्यम समितिको सभापति छन्। उनले यसभन्दा अगाडि महासंघमा जिल्ला तथा नगर क्षेत्रको उपाध्यक्ष भएर काम गरिसकेको अनुभव रहेको छ। २०७० चैतमा भएको निर्वाचनमा राणा बरिष्ठ उपाध्यक्षमा पराजित भएकी थिइन्।

यस्तै मुरारका महासंघको कार्यवाहक अध्यक्ष हुन्। महासंघमा उपाध्यक्ष र २०७० मा भएको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित मुरारका तत्कालिन अध्यक्ष प्रदिपजंग पाण्डे भष्ट्रचारको मुद्दामा जेल गएपछि कार्यवाहकको भूमिकामा छन्। राजकर्णिकारले महासंघमा बरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको रुपमा काम गरिसकेका छन्। २०७० साल चैतमा भएको निर्वाचनमा पाण्डेसँग पराजित भएका थिए।

सबैभन्दा पहिला अध्यक्षको पदमा भवानी राणाले उम्मेदवारी दर्ता गरेकी थिइन्। राणाको प्रस्तावकमा गुलेरिया उद्योग वाणिज्य संघ रहेको छ। उम्मेदवारी दर्तापछि सन्चारकर्मीलाई प्रतिक्रिया दिदै राणाले आफुले महासंघलाई एकताबद्ध बनाउन अध्यक्षमा उम्मेदवारी दिएको बताइन्। ‘ महासंघमा अहिलेको अवस्थामा पार लगाउन मेरो नेतृत्व आवश्यक छ’,राणाले भनिन्,’ सहमतीको लागि भने म त्याग गर्न तयार छु।’
राणापछि उम्मेदवारी दर्ता गर्न पशुपति मुरारका आएका थिए। उनको प्रस्तावमा लाहान उद्योग वाणिज्य महासंघ रहेको छ। पशुपती मुरारकाले कार्यवाहक अध्यक्ष चलाएको हुनाले आफ्नो दाबी स्वभाविक भएको प्रतिक्रिया दिए।’

अध्यक्षमा उम्मेदवारी गर्दा जुन उत्साह हुनुपर्ने थियो। अहिले त्यो म छैन’ ,उनले भने,’ कार्यवाहक अध्यक्षको आधारले बाँकी कार्यकालको लागि मेरो स्वभाविक दाबी हुन्छ। यसैले अध्यक्षमा उम्मेदवारी दिन आएको हो।’

अन्तिममा उम्मेदवारी दर्ता गर्न आएका भाष्करराज राजकर्णिकार आएका थिए। उनको प्रस्तावकमा नेपाल विज्ञापन व्यवसायी संघ(आन) रहेको छ। उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिदै राजकर्णिकारले महासंघमा आफुले उठाउँदै आएको नीतिगत विषयको जित भएको हुँदा अध्यक्षमा उम्मेदवारी दिएको बताए। ‘

महासंघमा रहेका ठूलो संकटलाई पार लगाउनको लागि मेरो उम्मेदवारी आवश्यक छÓ,उनले भने,’ नीतिगत विषयमा मेरो नीतिले जितेको छ। त्यसैले स्वभाविक रुपमा अध्यक्षमा मेरो दाबी हो।’

अध्यक्षमा उम्मेदवारी दिएकी राणाको होटल तथा पर्यटन क्षेत्रकी व्यवासयी हुन्। मुरारकाको उत्पादन,ट्रेडिङ तथा सेवा क्षेत्रका बैकिङ तथा बिमामा क्षेत्रका व्यवसायी हुन्। राजकर्णिकारको विज्ञापन तथा सन्चार क्षेत्रमा लगानी रहेको छ।
महासंघका तत्कालिन अध्यक्ष प्रदिपजंग पाण्डे भष्ट्रचारको मुद्दामा जेल गएपछि २०७३ चैत सम्मको लागि कार्यकाल रहने गरी अध्यक्ष पदको निर्वाचन हुन लागेको हो। महासंघको निर्वाचनमा २०७० सालमा भएका मतदाताले मात्र भाग लिन पाउने छन्।

यसभन्दा अगाडि भएको निर्वाचनमा राजकर्णिकारको प्यानलमा मुरारका बरिष्ष्ठ उपाध्यक्षका उम्मेदवार रहेका थिए। अध्यक्ष पदमा तीनजनाको उम्मेदवारी परेपछि एक साता अगाडि महासंघका नौ वटा पूर्व अध्यक्षले सहमतीमो पक्षमा निकालेको अपिलको अर्थ नभएको टिप्पणी उद्योगी व्यवसायीको छ।