मुम्बई । बलिउड क्वीन कंगना रनौतले अनौठो ब्यबहार देखाएकी छिन, आफैंले अभिनय गरेको फिल्म ‘प्रदर्शनी रोकियोस्’ भन्दै उजुरी गरेर ।कंगनाले ६ वर्ष अगाडी अभिनय गरेको फिल्म ‘आई लभ न्यु इयर’ प्रदर्शन हुने तयारीमा छ । तर, प्रर्दशनको मुखमा टि-सीरिजले बनाएको उक्त फिल्म रोकी पाउँ भन्दै कंगनाले उजुरी गरेकी छिन् ।
कंगनाको भनाई अनुसार उक्त फिल्ममा काम गरेवापत अहिलेसम्म उनले पारिश्रमिक पाएकी छैनन् । अर्को कुरा फिल्म स्त्रिप्टमा लेखिए अनुसार बनेको छैन ।
पछिल्लो समय विषयबस्तु हेरेर मात्रै अभिनय गर्न थालेकी कंगनाले ‘आई लभ न्यु ईयर’ हेरेर दर्शकले आफ्ना वारेमा नकारात्मक टिप्पणी गर्न सक्ने चिन्ता ब्यक्त गरेकी छिन् ।
कंगनाका वकिलले पनि यो घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । कंगनाको अनुमति विना फिल्म निर्माण संस्थाले प्रचार प्रसार गर्न नपाउने उनको दावी छ । निर्माण संस्थाले फिल्म निर्माण गर्दा कुनै सम्झौता पनि गरेको छैन ।
टि-सीरिजका भुषण कुमारले भने फिल्म रिलिज रोक्ने कुनै अधिकार कंगनालाई नभएको भन्दै १८ महिनाअघि नै वितरण अधिकार वेब सिनेमालाई दिएको बताएका छन् ।