केही महिनाअघि एउटा व्यक्तिलाई देखिएको उक्त संक्रमण घर तथा अस्पतालमा सतर्कता अपनाउन नसक्दा मिडिल इस्टमा मात्रै १५ सय बिरामी परेका थिए। थाइल्यान्डमा पनि एकजनामा यो रोग देखिएको छ।
सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले नेपाल र कोरियाबीच प्रत्यक्ष सम्बन्ध भएकाले यहाँ संक्रमण फैलिने जोखिम बढेको हो। सातामा दुईपटक नेपालबाट कोरियाका लागि उडान भर्ने गरिन्छ भने कामका लागि कोरिया पुगेका सयौं नेपाली कोरियन पर्यटकसमेत नेपाल ओहोरदोहोर गरिरहेका छन्।
उनीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समयमै प्रारम्भिक स्वास्थ्य जाँच ‘स्क्रिनिङ’ नभएमा उक्त संक्रमण भित्रने स भावना बलियो छ।
‘सातामा सयौं मानिस नेपाल र कोरिया ओहोरदोहोर गर्छन्, जहाँ नेपाली र विदेशी दुवै हुन्छन्। उनीहरू कस्तो अवस्थामा नेपाल फर्किरहेका छन् भन्ने हामीले एकिन गर्नुपर्छ’, डा. पाण्डेले शनिबार अन्नपूर्णसँग भने, ‘सीमा नाकामा समेत स्क्रिनिङको राम्रो व्यवस्था हुन जरुरी छ।’
पाण्डेका अनुसार मर्सको संक्रमण नेपालमै परीक्षण हुने भए पनि धेरैलाई यसबारे जानकारी नहुँदा झन् जोखिम बढेको हो। ‘कोरियाबाट मानिस आएर हामीलाई थाहै नदिई घरमा जान सक्छन्। बालबालिकालाई सार्न सक्छन्। उनीहरूले विद्यालयमा गएर सार्न सक्छन्’, डा. पाण्डेले भने, मर्सबाट जोखिन नेपालले भारतका सीमा नाकामा स्क्रिनिङको व्यवस्था हुनुपर्छ।’
इबोला संक्रमण फैलिने डरमा केही महिनाअगाडि विमानस्थलमा र सीमा नाकामा सञ्चालान भएका हेल्थ डेस्क अहिले निष्क्रिय छन्। विश्व स्वास्थ्य संगठनले सबै देशलाई उच्च सतर्कता अपनाउन आह्वानसमेत गरिसकेको छ।
मर्स भाइरसबाट जोगिन मास्क लगाएर पढ्दै दक्षिण कोरियाका विद्यार्थी
डा. मरासिनीका अनुसार मर्सबाट जोखिन नेपालमा शंकास्पद बिरामीलाई छुट्टै राखेर उपचार गर्न कठिन छ। ‘केही लक्षण देखिनासाथ बिरामी पहिले अस्पताल नै जान्छन्। लामो लाइनमा बस्दा एकअर्कामा सर्ने जोखिम हुन्छ’, डा. मरासिनीले भने, ‘त्यही भएर रिसेप्सनबाटै संकास्पद बिरामीलाई छुट्टै राखेर उपचार गर्ने कि भन्ने विषयमा पनि छलफल चलिहेको छ, हामी छिट्टै टुंगोमा पुग्छौं।’
मर्सले ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिने अन्तत: निमोनियाबाटै मानिसको ज्यान लिने गर्छ। मर्सबाट बच्न विदेशबाट बिरामी भएर आएका मानिसबाट टाढै रहने, मास्क लगाउने गर्नु पर्छ। रुघाखोकी लाग्ने, छाती दुख्ने समस्या देखिएमा परीक्षणका लागि प्रयोगशाला जानुपर्छ।
डा. मरासिनीका अनुसार दीर्घरोगीलाई मर्सको भाइरसले भेट्टायो भने छोटो समयमै उनीहरू थला पर्नेछन्। ‘रोगीहरूमा पनि हामी केन्द्रित भएका छौं, उनीहरूलाई यो भाइरसले सजिलै आक्रमण गर्छ र छोटो समयमै गलाउँछ पनि’, डा.मरासिनीले भने, ‘त्यस्ता व्यक्ति वा समूहले विशेष ध्यान दिनुपर्छ।’