लमजुङ,असार ६ । महिला तथा बालबालिका हराउने क्रम बढेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ५७ जना महिला र ११ बालबालिका हराएका थिए । जसमध्ये १४ जना महिला फेला परेका छन् भने ४३ महिला अझै बेपत्ता छन् । यस्तै ३ जना बालबालिका फेला परेका छन भने ८ जना अझै फेला पर्न सकेका छैनन् ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ मा बेपत्ता भएका ४३ जना महिला मध्ये १४ जना फेला परेका थिए भने २९ जना अझै बेपत्ता छन् । ७०/ ७१ मै बेपत्ता भएका १३ जना बालबालिका मध्ये ३ जना फेला परेका थिए भने १० जना अझै बेपत्ता छन् ।

यस्तै आर्थिक वर्ष २०६९/७० मा ५७ महिला बेपत्ता भएका थिए । जसमध्ये २७ महिला फेला परेका थिए भने ३० महिला अझै फेला परेका छैनन् । सोही वर्ष २० जना बालबालिका बेपत्ता भएका थिए । ति मध्ये १३ जना फेला परेका थिए भने ७ हालसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अन्र्तगत महिला तथा बालबालिका सेवा केन्द्रकी साबित्री खत्रीले महिला हिंसाका निबेदन आउने क्रम बढेको बताउनुभयो ।

खत्रीले महिला हिंसाविरुद्धका चेतना मूलककार्यक्रम लागु गर्नुपर्ने बताउनुभयो । लमजुङमा आर्थिक वर्ष २०७१/७२ मा मात्र १०३ वटा घरेलु हिंसाका निबेदन परेको र ५९ ठाडो उजुरी आएको प्रहरी बताएको छ । यस्तै ६८ मिलापत्र भएको र २९ ठाडो उजुरीको मिलापत्र भएका छन् ।