धनगढी, असार २ । पुनःस्थापना हुन बाँकी रहेका कैलाली जिल्लाको मसुरिया र कोटातुल्सिपुर गाविसका मुक्तकमैया परिवारको पुनःस्थापना गर्न पहल सुरु भएको छ ।पहिलो चरणमा ती क्षेत्रमा बसोबास गरिरहेका पूर्व कमैयाको जग्गाको क्षेत्रफल लिने निर्णय गरिएको मुक्तकमैया पुनःस्थापना जिल्ला समिति कैलालीले जनाएको छ ।

पुनःस्थापना हुन नसकेका धनगढीको पुरानो विमानस्थल, अत्तरिया, टीकापुरलगायतका पूर्व कमैयालाई पुनःस्थापित गर्न जग्गाका लागि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवम् जिल्ला भूमिसुधार अधिकारी लक्ष्मण कठायतले जानकारी दिनुभयो ।

कमैया मुक्त भएको डेढ दशक भइसक्दा पनि कैलालीमा सबै पूर्व कमैयाको पुनःस्थापना हुन सकेका छैनन् । पुनःस्थापनाका लागि सरकारी ऐलानी पर्ती जग्गाको अभाव रहेकाले पूर्व कमैया सबैको पुनःस्थापना हुन नसकेको सदस्य सचिव कठायतले बताउनुभयो ।