३२ जेठ, काठमाडौं । उपत्यकाका तीन जिल्लामा भूकम्पबाट बास गुमेर त्रिपालमा बस्नेको संख्या ६५ हजार पुगेको छ । यसमध्ये करिब तीन हजार उपत्यकाबाहिरबाट विस्थापित भएका छन् ।

महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौंका विभिन्न स्थानका शिविरमा मात्र भूकम्पबाट बास गुमेका ४५ हजार जना छन् । ललितपुरमा १० हजार पाँच सय र भक्तपुरमा ६ हजारजना शिविरमा बस्दै आएको छन् ।

काठमाडौंको टुँडिखेल, पहेँलोगुम्बा, भुइँखेल चौर, विजेश्वरी, धर्मस्थली, झोर महांकाल, पाँगा, भत्केको पार्टी, झागाझिटी, रामकोटमा ठूलो संख्यामा भूकम्पपीडित त्रिपालमा बस्दै आएका छन् । त्यस्तै ललितपुरको बिपीपार्क, छम्पी, खोकना, बुङमती, लामाटार, लेले र चापागाउँमा धेरै रहेका छन् । भक्तपुरको सानो व्यासी, ठूलो व्यासी, राममन्दिर, भेलुखेल, पद्यस्कुल, महेश्वर खेलमैदान र कमलविनायक टाउन प्लानिङमा सामूहिक रुपमा भूकम्पबाटबास गुमेका पीडित बस्दै आएका छन् ।