३० जेष्ठ, बिराटनगर । भारतमा म्यागी चाउचाउमाथि प्रतिबन्ध लागिरहेका बेला नेपालमा पनि गुणस्तरहीन खाद्यान्न उत्पादन गरेको आरोपमा पूर्वी नेपालका ३६ वटा उद्योगविरुद्ध मुद्दा चलाइएको छ । यसरी मुद्दा खेप्नेमा रमपम चाउचाउदेखि क्वालिटी बिस्कुटसम्म छन् ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले  चालु आर्थिक वर्षको १० महिनामा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको आरोपमा रमपम चाउचाउदेखि क्वालिटी बिस्कुटसहितका ३६ वटा उद्योगविरुद्ध मुद्दा चलाइएको हो ।

कार्यालयका प्रमुख प्रमोद कोइरालाका अनुसार बजारमा नाम चलेका ब्रान्डका खाद्यान्न उत्पादन गर्ने ठूला उद्योगका उत्पादनसमेत गुणस्तरहीन भएको पाइएपछि त्यस्ता उद्योग विरुद्ध कार्वाहीका लागि कानुनी प्रक्रिया अघि बढाएकोे हो ।

कार्यालयले विभिन्न समयमा खाद्यान्न वस्तुको नमूना संकलन गरेर क्षेत्रीय प्रयोगशालामा गुणस्तर परीक्षण गरेको थियो । एक वर्षको अवधिमा सबैभन्दा बढी चाउचाउ उत्पादक एशियन थाई फुड्सलाई तीन र क्वालिटी बिस्कुटलाई चारवटा मुद्दा दायर गरिएको  कोइरालाले बताए ।

त्यसैगरी केएल दुगड समूहको तेल उद्योगलाई पनि मुद्दा चलाइएको छ । गुणस्तरहीन तेल उत्पादन गरेको परीक्षणबाट पत्ता लागेपछि मुद्दा चलाइएको हो ।

यसरी मुद्दा चलाइएका  अन्य उद्योगहरुमा तीनवटा बिस्कुट उद्योग छन् भने १० वटा प्रशोधित पिउने पानी उत्पादक उद्योग छन् ।
त्यसैगरी ७ वटा घिऊ तथा तेल उद्योगसहित प्रशोधित चाउचाउ उद्योग, चिया, बेसन, प्रशोधित दूध र स्वीट्स एण्ड स्न्याक्स उद्योगहरु छन् ।