काठमाडौं जेठ २८ । सरकारले काठमाडौं महानगरपालिका, देशभरिका उपमहानगरपालिका र नगरपालिकाहरूमा नयाँ घर बनाउन कम्तीमा ६ मिटरको बाटो हुनैपर्ने व्यवस्था गर्ने तयारी गरेको छ। सरकारको तयारीअनुसार नियम स्वीकृत भयो भने अब ६ मिटर (२० फिट) भन्दा कमको बाटो भएको ठाउँमा घर बनाउन नक्सापास हुने छैन। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
२० फिट बाटो भएका जग्गामा पनि घर बनाउन डेढ मिटर खाली ठाउँ छाड्नुपर्ने नियम ल्याउने तयारी सरकारले गरेको छ। यसको सीधा असर पर्नेछ- २० फिटभन्दा सानो बाटो भएको ठाउँमा जग्गा किनेर घर बनाउने तयारी गरिरहेकाहरूलाई।
सानो बाटो भएको आवासीय क्षेत्रमा ४-५ आना जग्गा किनेर पछि घर बनाउँला भनेर सपना साँच्नेहरू यो नियमको मारमा पर्नेछन्। ‘टोलभरि घर बनाइसकेर बचेको सानो जग्गामा पनि नयाँ घर बनाउन बाटो फराकिलो पार्नैपर्छ’, काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्त विकास कार्यालयका प्रमुख डा. भाइकाजी तिवारीले भने।
उनले नयाँ घर बनाउन दायाँबायाँ गरी ६ मिटरको बाटो अनिवार्य हुनुपर्ने व्यवस्था गर्न लागिएको बताए। नयाँ व्यवस्था कार्यान्वयन भएपछि घर बनाउन पहिलाभन्दा धेरै जग्गा आवश्यक पर्नेछ।