सुनसरी, जेठ २७। धरानमा गत सोमबार बेलुका १५ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गर्ने नौ जनालाई महिला अधिकारकर्मीहरूले सर्वस्वहरणसहित मृत्युदण्डको माग गरेका छन्। महिला सञ्जाल धरानकी मिना पुलामीले बलात्कार घटना अति भइसकेकाले दोषीलाई सर्वस्व हरण र मृत्युदण्ड सजायको अन्तिम विकल्प रहेको बताउनुभयो।
उहाँले भन्नुभयो ‘सामूहिक बलात्कारपछि किशोरीले पाएको शारीरिक र मानसिक पीडाको क्षतिपुर्ती कतैबाट पुरा हुँदैन, त्यसैले बलात्कारीहरूको सजाय सर्वस्वहरणसहितको मृत्युदण्ड दिने राज्यले कानुन ल्याउनुपर्छ।’
धरान सुकुम्बासी बस्ती शान्ति टोल बस्ने ती किशोरीलाई सोही वडाका नौजनाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिम क्षेत्रमा रहेको सानो खोल्सामा लगेर सामूहिक बलात्कार गरेका थिए।
ती किशोरी आफ्ना छिमेकी दिदी र दाईसँग गर्मीका कारण प्रतिष्ठानको खुला चौरमा बेलुका नौ बजे टहलिन गएकी थिइन्। सँगै रहेका दाई र दिदीले ती किशोरीलाई चुरोट किन्न अलिक टाढा रहेको पसलमा पठाएका बेला स्थानीय युवाले घेरेर मुख र आँखामा पट्टी बाँधी नजिकैको खोल्सामा लगेर सामूहिक बलात्कार गरेको पीडितले बताइन् ।
किशोरी बलात्कारमा संलग्न मध्ये तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ भने फरार रहेका अन्यकोे खोजी भइरहेको डिएसपी सिजापतीले जानकारी दिनुभयो। पीडित किशोरीले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकाहरूमा धरानबस्ने २३ वर्षीय समीर राई, १८ वर्षीय प्रीतेस लिम्बु र २२ बर्षीय विटु राई रहेका छन्।
प्रहरीले सार्वजनिक गरेका ती युवाले किशोरी बलात्कारमा आफूहरू संम्लग्न भएको स्वीकार गरिसकेका छन्। पीडित किशोरीका परिवारले पनि बलात्कार जस्तो जघन्य अपराधमा सम्लग्न दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्। किशोरीका बाबु धरानमा टेम्पो चलाएर जिविका धान्दै आएका छन्।
उनका दिदी र आमाले इलाका प्रहरी कार्यालयमा आएर सामूहिक बलात्कारी गर्ने अपराधीलाई मृत्युदण्ड दिनुपर्नेमाग गरेका छन्। पीडितकी आमाले भनिन्, ‘छोरीको जीवन वर्वाद गर्नेलाई पाँचसात वर्ष जेल सजाय दिएर मात्र क्षतिपुर्ति हुँदैन। जेल सजायपछि यस्ता अपराधी सुध्रिदैनन्। यस्तलाई राज्यले मृत्युदण्ड दिनुपर्छ।’
महिला अधिकारकर्मी सपना राई र सिता मगरले किशोरी बलात्कारमा सम्लग्न मध्ये केहीलाई बचाउन राजनीतिक दलका स्थानीय नेता लागेको देखिएकाले बलात्कार जस्तो जघन्य अपराधको घटनामा राजनीति नगर्न चेतावनी दिएका छन्।
अधिकारकर्मी मगरले भन्नुभयो–’हामी आफ्नै छोरा बलात्कारी भएपनि नछाडौं भनेर बलात्कारविरुद्ध अभियान चलाइहेका छौं। पीडित किशोरीले न्याय पाउनुपर्छ। नेपालमा मृत्युदण्डको व्यवस्था नभएपनि अव मृत्युदण्डको व्यवस्था गरेर ती बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ।’