शिक्षा मन्त्रायले जेठ १५ गतेसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको छ । महाभूकम्पपछि मंगलबार फेरि पनि शक्तिशाली भूकम्प गएपछि तत्काल जेठ १ गतेबाट विद्यालय सुचारु हुन नसक्ने भन्दै उक्त निर्णय गरेको हो ।
‘पटक पटकको भूकम्पले आम मानिसलाई त्रसित तुल्यारहेको छ,’ मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीले कान्तिपुरसित भने, ‘त्यसैले जेठ १५ सम्म विद्यालय बन्द रहने निर्णय भएको छ । अन्य विदाहरु मिलान गरेर पठनपाठन गर्नुपर्नेछ ।’
यही वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । नयाँ सत्र सुरु भएसँगै कतिपय निजी विद्यालयले भर्ना र पठनपाठन सुरु गरेका थिए भने सामुदायिक विद्यालयमा भर्ना अभियान जारी छ । तर, वैशाख १२ गते गएको महाभूकम्पले १४ जिल्लाको अधिकांश विद्यालय भवन संरचना ध्वस्त प्राय: छन् ।
ति विद्यालयहरुको पुन: निर्माण हुन नसकेसम्म अस्थायी कक्षा कोठा (अस्थायी सिकाई केन्द्र/टिएलसी) निर्माण गर्न शिक्षा विभागले आर्थिक अनुदान उपलब्ध गराउने निर्णय गरिसकेको छ ।