काठमाडौं, जेष्ठ १७ ।वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण नेपाली अर्थतन्त्रमा ५ देखि १० खर्बसम्मको क्षति भएको सरकारी अनुमान छ । भूकम्पका कारण करिब ९ हजारले ज्यान गुमाए भने ५ लाख बढी घर क्षति भए । औद्योगिक क्षेत्र कृषि, पर्यटन, उर्जा लगायतमा प्रभाव परेको छ । सरकाले राष्ट्रिय योजना आयोगलाई क्षतिको पूर्ण विवरण निकाल्न जिम्मेवारी पनि दिइसकेको छ ।
तर सरकारी अनुमान अनुसार भूकम्पका कारण ५ खर्बभन्दा बढीको क्षति भएको छ । यसका कारण नेपाली अर्थतन्त्र संकट अवस्थामा पुगेको अर्थमन्त्री डा. रामशरण महतले बताउनुभयो । देश विनाशकारी भूकम्पले तहस नहस भएपछि अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि नेपालले आन्तरिक ऋणपत्र जारी गर्ने दायरा अझै पनि खुल्ला राखेको छ ।सरकारका अनुसार यस वर्षको बजेटको आकार पनि केही बढ्ने देखिएको छ । उसका अनुसार करको दायरा बढाउने, आन्तरिक ऋण परिचालन पनि बढाउने तयारी सरकारले गरिरहेको छ । आगामी बजेटमा यसअघिका आर्थिक वर्षमा सरकारले प्राथमिकतामा राखेका योजनाको पैसा कटौती नहुने तर केही आयोजनाको रकम कटौती गर्ने सरकारी योजना छ ।