दुबई जेठ ८–निर्धारित कार्यक्रम अनुसारै घडीको सुईले ठीक नौ बजाउँदा दुबईस्थित ‘अल नासेर लिजर ल्याण्ड’को ‘आइस रिंक’मा नेपथ्य घन्किन सुरुभएको थियो ।

‘म हिँड्दै पुगेका थुप्रै गाउँहरुको यतिबेला अस्तित्वसमेत लोप भएको छ । त्यता पुगेका बेला मैले सुख दुःख साटेका गाउँलेहरु या त अब यो धर्तीमै रहेनन् या सकसको जीवन बाँचिरहेका छन् । गाउँका रोधीघरहरु भत्किएका छन् । ति गाउँहरुको स्मृतिमा म त्यतैका रोधीहरुबाट कुनैबेला संकलन गरेको यो गीत गाउन चाहन्छु… ’ नेपथ्यका टोली अगुवा एवं मुख्य गायक अमृत गुरुङले यति भन्नासाथ गाउन सुरु गरे, ‘सरुमा रानीको आँसुको कस्सम्…’
कार्यक्रमको सुरुवात नै भर्खरै नेपालमा आएको महाभुकम्पबाट ज्यानगुमाउने र भत्किएका सम्पदाहरुको स्मृतिमा भएको थियो । त्यसैकारण लगत्तैको ‘अभाव अभावै भयो’ गीतमा भत्किएका सम्पदाहरु र ‘यो जीन्दगानी’मा मानवीय भोगाइका दृश्यहरु पृष्ठभूमिमा देखाइँदा दर्शकहरु भावविव्हल बन्नपुगेका थिए ।
नेपथ्यको सर्वकालीक लोकप्रिय ‘जीवन हो घाम छायाँ’ गाइसकेपछि अमृत फेरि दर्शकसामू केहि बोल्न उत्सुक देखिए ।

‘हामी यो विपत्तिबाट बाहिर निस्कँदै फेरि जीवनको बाटोमा बढ्नु जरुरी छ । आशा गरौं कालो रात्री सकिएको छ र विहानको उज्यालो फेरि हाम्रोनिम्ति उदाउँदैछ । शोकलाई शक्तिमा बदल्दै अब पुननिर्माणमा कस्सिनु समयको माँग हो । फेरि संभावनाको खोजी गर्न म तपाईहरुलाई ताजापन तर्फ लैजाने नयाँ गीत सुनाउँदैछु,’ उनले यति भनेपछि अहिलेसम्म रिलिज नभएको नेपथ्यको नयाँ गीत सुनाए, ‘हो रामा रामा …’
तत्कालै दर्शकहरुले सुन्दै आएको पुरानै गीतजस्तै अमृत सँगसँगै गाएर साथ दिएका थिए ।
साँझ जसै अघि बढ्दै गयो उसैगरि नेपथ्यका गीतहरु र अमृतका भनाइहरुसँग दर्शक मन घोलिँदै गएको थियो ।
‘हामी नेपालीहरु घर परिवारका निम्ति भनेर यति पर आइपुगेका छौं । आज आफन्तका निम्ति तपाइँको सबैभन्दा बढी जरुरी परेको छ । मिल्छ भने थोरै समयका निम्ति भए पनि छुट्टी लिएर उनीहरुलाई भेट्न जानुस् । तपाइँको उपस्थिती र तपाइँका पौरखी हातहरुको आज असाध्यै जरुरी परेको छ ।’
‘आजको कार्यक्रम शोक र उमंगको गजब मिश्रण बन्न पुग्यो… अघिको गीतले जीवन हो घाम छायाँ भनेजस्तो,’ आयोजक टोलीका जस पाइजाले भने, ‘यस्तो जटिल परिस्थितीमा पनि दर्शकहरुको उपस्थिती देखेर निकै प्रभावित भएका छौं । हामीले दुई हजार दर्शकको अपेक्षा गरेकामा लगभग उत्तिकै उपस्थित भइदिए । सामान्य समय भइदिएको भए यो हल नै सानो हुने रहेछ ।’
पाइजाले कार्यक्रमको हिसाब किताब भइसकेपछि पूर्व घोषणा अनुसारै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गरिने जानकारी पनि दिए ।
कार्यक्रममा ‘भेँडाको ऊनजस्तो’ गाउनुअघि अमृतले यस गीत संकलनका निम्ति लाङटाङ क्षेत्रमा बिताएका क्षणहरुको सम्झना पनि गरेका थिए । यतिबेला भुकम्पले गर्दा आएको पहिरोमा पुरिएर सिँगो लाङटाङ गाउँको अस्तित्व नै लोप भइसकेको छ ।
‘नेपाल क्षतिग्रस्त मात्र भएको छ, ध्वस्त भइसकेको छैन । तपाइँका विदेसी साथीहरुले सहयोगका निम्ति के गर्न सक्छौं भनेर सोधेको खण्डमा सहानुभूतिले भरिएका केहि नगद वा जिन्सी होइन । त्यो सुन्दर मुलुक घुम्नका निम्ति जाउ भनेर सल्लाह दिनुस्,’ अमृतले थपे, ‘त्यसबाट पनि हाम्रो पुनः निर्माणमा जुटेको अर्थतन्त्रलाई धेरै सघाउ पुग्नेछ ।’

अमृतले बोलेका प्रत्येक वाक्यहरुले दर्शकबाट त्यसरी नै ताली पाएका थिए जसरी नेपथ्यका प्रत्येक गीतहरु ताली र नृत्यका साथ स्वीकार गरिएका थिए ।
‘जुनसुकै जाती, धर्म वा भाषाभाषी भए पनि हामी सबैको साझा पहिचान नेपाल हो र हामी सबैको भाषा नेपाली हो । यो संकटको घडीमा हामीलाई थप समस्यामा पार्न खोज्नेहरुले फुटका कुरा पनि गरिदेलान् । तर, हामी सबै संगठित भएर एकताको बल प्रदर्शित गरिदिनुपर्छ ।’ यति भन्दाभन्दै मञ्चमा ‘रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो’को धुन बज्न सुरुभइसकेको थियो । यस गीतसँगै सम्पन्न भएको कार्यक्रममा सबै दर्शकलाई फेरि एकपटक अमृतले धन्यवाद दिए, ‘तपाइँहरुको उपस्थिती र हामीलाई मनपराइदिनुभएकामा हार्दिक श्रद्धा र आभार प्रकट गर्दछु ।’ कार्यक्रममा अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेसमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिएका थिए ।