७ जेठ, काठमाडौं । राजस्थान रोयल्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंग्लोर इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएफको क्वालिफयरमा पुगेको छ ।

दुई रोयल क्लबको इलिमिनेटर भिडन्तमा बैंग्लोरले ७१ रनको जित हात पारेको हो ।

पुनेमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनायो । उसका लागि एबी डिभिलियर्स र मन्दिप सिंहले तेस्रो विकेटका लागि ११३ रनको महत्वपूर्ण साझेदारी गरे ।

डिभिलियर्सले ६६ रन बनाए । मन्दिप सिंह ५४ रनमा अविजित रहे । क्रिस गेलले २७ रन बनाए भने कप्तान विराट कोहली मात्र १२ रनमा आउट भए । दिनेश कार्तिकले ८ रन जोडे ।

जवाफमा मैदान उत्रिएको राजस्थानको सुरुवात राम्रो हुन सकेन । उसका लागि अजिन्क्या रहाणेले ४२ रन जोडे पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् र १९ ओभरमा १०९ रन जोड्दा अलआउट भयो ।