हेटौंडा, जेठ ५। बैशाख १२ गतेको भूकम्पका कारण चर्किएको कुलेखानी ड्याम स्थलगत निरीक्षणका लागि जापानबाट विशेषज्ञ टोली आउने भएको छ ।
२०३५ सालबाट निर्माण सुरु गरेर २०३९ सालमा निर्माण सम्पन्न गरेको जापानको निप्पन कोइ कम्पनीका प्राविधिकहरु केही दिनभित्र स्थलगत निरीक्षणका लागि नेपाल आउने भएका हुन् । ड्यामको प्राविधिक अवस्थाबारे पुर्णरुपमा ढुक्क हुन निर्माण कम्पनीकै प्राविधिकलाई आग्रह गरिएको हो कुलेखानी जलबिद्युत आयोजना प्रमुख रामकुमार यादवले भने ।
यादवका अनुसार भूकम्पका कारण ड्याममा सामान्यमात्र, क्षति पुगेको छ । ड्यामको चर्काइलाई सामान्य मान्दै यादबले अहिलेको अस्थाबाट ठूलो क्षति नहुने दाबी गरे । उर्जा मन्त्रालयको आग्रहअनुसार जापानी प्राविधिकहरु आउन लागेका हुन् ।
भूकम्पले सामान्यमात्र क्षति पु¥याएको इन्द्रसरोवर ड्यामबारे प्राविधिक रुपमा निश्चय हुन निर्माण कम्पनीकै प्राविधिकहरुलाई निरीक्षण र आवश्यक सुझावका लागि आग्रह गरिएको यादबको भनाइ छ । हाल ९० मेगावाट विद्युत उत्पादन भइरहेको जानकारी यादबले दिए ।
भूकम्पपछि काठमाडौं उपत्यकामा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गरेको छैन । मानिसमा रहेको भूकम्पको त्रासदी कम गर्न र उद्धार तथा राहत कार्यलाई सहयोग पु¥याउन लोडसेडिङ नगरिएको यादबले प्रष्टयाए । इन्द्रसरोवरलाई नेपाल विद्युत प्राधिकरणको पावर ब्याकअप मानिन्छ । भुकम्पले कुलेखानी दोस्रो र निर्माणाधीन तेस्रो आयोजनामा भने कुनै असर पारेको छैन ।