मुम्बई : ऐश्वर्या रायका प्रशंसकहरूले चाँडै उनलाई चलचित्रमा देख्न पाउने भएका छन्। छोरी जन्माएपछि लामो समय चलचित्रमा नदेखिएकी ऐश्वर्या अभिनीत नयाँ चलचित्रको पहिलो झलक आगामी आइतबार दर्शकमाझ आउँदैछ।
फ्रान्समा आयोजना भइरहेको कान्स फिल्म फेस्टिभलमा ऐश्वर्याले चलचित्र ‘जज्बा’ को पहिलो झलकसहित सहभागिता जनाउँदै छिन्। ऐश्वर्या एक दशकदेखि फेस्टिभलमा भारतको प्रतिनिधित्व गर्दै आएकी छन्।
‘जज्बा’ को पहिलो झलक देखाएपछि उनी कान्सको विभिन्न कार्यक्रममा सहभागी हुँदैछिन्। उनी आगामी बुधबार रेड कार्पेटमा देखा पर्नेछिन् भने भोलिपल्ट पति अभिषेक बच्चनको साथमा अर्को एक कार्यक्रमा भाग लिँदैछिन्।
उनले फेस्टिभलमा लैंगिक समानता र सञ्चारमाध्यममा महिलाको विषयमा आयोजित छलफलमा पनि भाग लिँदैछिन्। यो फेस्टिभलमा ऐश्वर्याको विशेष भूमिका हुन्छ र उनलाई सत्कार गर्ने पनि धेरै हुन्छन्।
नयाँ चलचित्र ‘जज्बा’ मा उनले वकिलको भूमिका अभिनय गर्दैछिन्। सञ्जय गुप्ताको निर्देशनमा बनेको यो चलचित्र नारीप्रधान भएको बताइएको छ।
चलचित्रमा ऐश्वर्याको साथमा इरफान खान, सावना आज्मी, अनुपम खेरलगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र आगामी अक्टोबर ९ तारिख प्रदर्शन हुँदैछ।
सन् १९९४ मा विश्व सुन्दरीको ताज पहिरिएकी ऐश्वर्या सन् २०१० मा प्रदर्शित ‘गुजारिस’ पछि नयाँ चलचित्रमा देखा परेकी थिइनन्।