काठमाडौं, ३० वैशाख महाभूकम्पको १७ दिनपछि मंगलबार दिउँसो शक्तिशाली पराकम्पन भएको छ । मंगलबारको पराकम्पनमा ५१ जनाको मृत्यु तथा एक हजार एक सय ६६ जना घाइते भएका छन् । मंगलबारको पराकम्पनले सबैभन्दा ठूलो क्षति दोलखामा भएको प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले बताए । उनका अनुसार दोलखामा २६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकमा पाँच, काठमाडौंमा पाँच, रामेछापमा चार, सिन्धुली र भक्तपुरमा दुई–दुईजनाको मृत्यु भएको छ । ललितपुर, सुनसरी, धनुषा, चितवन, सर्लाही, रौतहट र गोरखामा एक–एकजनाको मृत्यु भएको छ । योसमेत गरी भूकम्पमा मृत्यु हुनेको संख्या आठ हजार दुई सय चार पुगेको छ । १२ वैशाखको भूकम्पमा आठ हजार एक सय ५३ जनाको मृत्यु भएको थियो । रामेछाप र दोलखाबाट ६३ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत उपत्यकामा ल्याइएको छ । मंगलबार ४६ प्रहरी पनि घाइते भएका छन् । मंगलबारको पराकम्पनसँगै सिन्धुपाल्चोकको खाडीचौर, बलेफी, जलबिरे, दोलखाको मुडे र किर्टेटार तथा लमजुङको टारिङ सडक पहिरोका कारण अवरुद्ध भएको प्रहरी प्रवक्ता डिआइजी बमले बताए । भूकम्पमा रामेछाप र सोलुखुम्बुमा प्रहरी कार्यालयहरू भत्किएका छन् । मंगलबारको भूकम्पपछि राजधानीमा भागभाग मच्चिएको थियो । सर्वसाधारणमा १२ वैशाखकै जस्तो त्रास देखिएको थियो । पहिलाको भूकम्पले कमजोर बनाएका घरहरू मंगलबारको भूकम्पले भत्किएका छन् । मंगलबारको भूकम्पले देशभर नै प्रभाव पारेको छ । सिन्धुपाल्चोक जिल्लाको मांखा र पांग्रेटारमा छुट्टाछुट्टै घर भत्किएर पुरिएका दुईजनालाई एपिएफ टोलीले जीवितै उद्धार गरेको छ । एपिएफ टोलीले अर्का एकजनालाई पनि जीवितै उद्धार गरेकोमा उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको छ । भूकम्पपछि उपत्यकामा चारजनाको हृदयाघातबाट मृत्यु उपत्यकामा मंगलबारको पराकम्पनमा आठजनाको मृत्यु भएको छ । त्यसमध्ये चारजनाको भूकम्प आउँदा हृदयाघातका कारण मृत्यु भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौंमा पाँच, भक्तपुरमा दुई र लतिलपुरमा एकजनाको मृत्यु भएको हो । एसएसपी नारायणसिंह खड्काका अनुसार नयाँबजारमा नरमाया घले, गोकर्णेश्वरमा दुर्गादत्त श्रेष्ठ, भक्तपुरको बालकोटमा नारायण भट्टराई र बोडेमा श्यामसुन्दर श्रेष्ठको हृदयाघातबाट मृत्यु भएको हो । हृदयाघातबाट मृत्यु हुने सबै ६० वर्षमाथिका छन् । ठूलो भूकम्पबाट धेरै डराएर दौडधुप गर्दा हृदयाघात भएकाले उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, टेकुमा पर्खाल भत्किँदा ११ वर्षीय बालक दिलीप जैसवालको मृत्यु भएको छ । सुन्दरीजलमा सावित्री श्रेष्ठ, टंगालमा बालकृष्ण श्रेष्ठ तथा ललितपुरको लेलेमा घर भत्किँदा घाइते गंगामाया नगरकोटीको पनि उपचारका क्रममा मृत्यु भएको छ । चितवनको भरतपुर पुरानो मेडिकल कलेजमा उपचारपछि घर फर्किन लागेका चितवन मेघौली–४ का ८५ वर्षीय बुडे महतोको मंगलबारको पराकम्पनपछि हृदयाघात भई मृत्यु भएको छ । रौतहट चन्द्रपुर नगरपालिका १५ बस्ने ४५ वर्षीया मेघाहिरा महतोको भाग्ने क्रममा लडेर मृत्यु भएको छ । भुइँचालो आएपछि भागदौड गर्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये आधाजसो सामान्य उपचार गरेर डिस्चार्ज भइसकेका छन् । काठमाडौंमा चार सय ५७, भक्तपुरमा दुई सय ७० तथा भक्तपुरमा दुई सय ५० जना घाइते भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । माछापोखरीमा एक, मित्रनगरमा चार, सामाखुसीको नवजीवन कलेजको छेउमा एक, भक्तपुरमा एक, कपनमा दुईवटा घर भत्किएका छन् ।