वैशाख २८ – नेपाल टेलिकम र नेपाल रेडक्रस सोसाइटीका बीचमा प्राकृतिक विपत पूर्वतयारी तथा न्युनीकरणका  लागि आवश्यक सेवा जडान तथा सञ्चालन गर्ने सम्बन्धी सम्झौता आज सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र नेपाल रेडक्रस सोसाइटीको तर्फबाट महामन्त्री देव रत्न धाख्वाले हस्ताक्षर गर्नुभयो ।

उक्त अवसरमा प्रबन्ध निर्देशक आचार्यले विपतको समयमा उपयुक्त सूचना आवश्यक हुने र यो सम्झौता पछि सो आवश्यकता पूूरा हुने विश्वास ब्यक्त गर्नुभयो । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री धाख्वाले यो सम्झौतासँगै नेपाल रेडक्रस सोसाइटी नेपाल टेलिकमका साथ सामाजिक कार्यमा संलग्न हुन पाएकोमा खुसी ब्यक्त गर्दै यसबाट सोसाइटीको जिम्मेवारी बढेको बताए । आइएफआरसीका नेपालस्थित प्रतिनिधि रित्भा लाह्तीले हालै गएको विनाशकारी भूकम्पका कारण पीडित बनेका नेपाली जनताका लागि यो प्रणाली प्रभावकारी हुने विश्वास ब्यक्त गरिन् । नेपाल टेलिकम, व्यापार व्यवस्थापन विभागका नायब प्रबन्ध निर्देशक सुभाषचन्द्र साहले यो प्रणालीको संचालनबाट कम्पनीका मोवाइल फोनका ग्राहकले निःशुल्क रुपमा प्राकृतिक विपत्तीको सूचना प्राप्त गर्ने बताउँदै गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प पश्चातको राहत तथा उद्धार कार्यलाई प्रभावकारी तथा व्यवस्थित गर्न समेत यसको उपयोग गरिने जानकारी दिए ।