इटहरीका प्रितम आचार्यले ‘सारेगमप लिटिल च्याम्प्स’ को मञ्चमा बारम्बार एउटै कुरा भनेका थिए, ‘म उदितनारायण झाको फ्यान हुँ। एकचोटि उनलाई भेट्न चाहन्छु।’

भारतीय टेलिभिजन च्यानल जिटिभीको ‘रियालिटी शो’ मा तेस्रो स्थान हासिल गरी फर्केका प्रितमसँग हामीले यही प्रश्नबाट कुराकानी सुरू गर्‍यौं, ‘उदितसँग भेट भयो त?’

‘छुट्टै भेट त भएन, तर उहाँको अगाडि गाउने मौका भने पाएँ,’ उनले सेतोपाटीसँगको टेलिफोन कुराकानीमा भने।

सारेगमपको एउटा कार्यक्रममा उदितनारायण आगन्तुक ‘जज’ बनेर आएका थिए। जसको गीत गाउँदै प्रितम हुर्के र जसलाई भेट्ने सपना साँचे, त्यस दिन उनकै अगाडि प्रितमलाई ‘पफर्मेन्स’ देखाउने अवसर जुरेको थियो।

उनले उदितकै गीत ‘जादु तेरी नजर’ गाए। प्रतिक्रियामा बूढी औंला माथि उठाउँदै उदितले भने, ‘आज तिमीले मेरो बाल्यकाल याद दिलायौ।’

उनले अगाडि थपे, ‘दिलबाटै गायौ, मुडमा गायौ, कसैले हुन्छ भनून् या हुन्न, तिमी सबैको प्रितम हौ।’

आफ्ना ‘आइडल’ उदितको यस्तो प्रतिक्रियाले उत्साहित प्रितम भन्छन्, ‘उहाँले मेरो गायन मन पराउनुभयो, म यसमा खुसी छु। उहाँलाई व्यक्तिगत रूपमै भेट्ने सपना भने यसपालि पूरा भएन।’

‘नारायणगोपाल र उदितनारायण झा मेरा मनपर्ने गायक हुन्,’ उनले भने, ‘बम्बईसम्म पुगेका बेला म उदित सरलाई भेट्न चाहन्थेँ। भेट्ने समय पनि मागेँ, तर उहाँको समय नै मिलेन। खै अब त कहिले भेट होला र!’

‘उहाँको आफ्नै जीवन छ, समयतालिका छ, फुर्सत निकाल्न सक्नुभएन होला, तर त्यहाँसम्म पुगेर पनि भेट्न नपाएकोमा दुःखी छु,’ प्रितमले भने।

बलिउड स्टार सलमान खानसँगको भेटले भने यो दु:ख बिर्साइदिएको उनी बताउँछन्।

कार्यक्रममा सलमानसँग उनको दोहोरो सवालजवाफ नै चलेको थियो।

त्यस दिन उनले ‘जब भी कोही लड्की देखुँ, मेरा दिल दिवाना बोले, ओले ओले … ’गीत गाउँदा दर्शकदीर्घामा बसेका पाहुना सलमानले सोधे, ‘यति धेरै पफर्मेन्स दिँदा थाक्दैनौ?’

‘कहिलेकाहीँ थाक्छु। तर फेरि आफैं इनर्जी आउँछ,’ प्रितमले जवाफ फर्काए।

‘नाच्न कसरी सिक्यौ?’

‘गीत गाउँदा डान्स आफैं आउँछ।’

‘देखिन्छौ एउटा, गर्छौ अर्कै, म जस्तै,’ सलमानले भने, ‘नेपालबाट आएको हो?’

प्रितमले ‘हो’ भनेपछि सलमानले भने, ‘नेपालको इज्जत बढाउनेछौ।’

सलमानसँगै रहेकी बलिउड अभिनेत्री कट्रिना कैफले पनि प्रितमको गीतपछि उठेर ताली बजाएकी थिइन्।

‘सलमानले मलाई तिम्रो गला धेरै राम्रो छ, बच्चाको उदितनारायण भन्नुभयो,’ सलमानसँगको कुराकानी सम्झँदै प्रितमले भने, ‘ज्यादै खुसी भएँ, म उहाँहरूले दिएको सम्मानको कदर गर्दै एक दिन राम्रो गायक बनेर नेपाली सांगीतिक क्षेत्रमा देखिने छु।’

सलमानसँग पनि उनको सवालजवाफ मञ्चमा मात्र सीमित रह्यो।

‘भारत’ फिल्मको प्रचारप्रसार निम्ति आएका सलमान र कट्रिनाले मञ्चबाहिर कसैलाई नभटेको उनले बताए।

सारेगमपकै क्रममा प्रितमले भेटेका अन्य सेलेब्रिटीमा माधुरी दीक्षित, वरुण धवन, कुमार सानु, सलीम मर्चेन्ट लगायत छन्। यी सबैले ‘तिम्रो करिअर लामो छ’ भनी हौस्याएको उनी सम्झन्छन्।

‘उहाँहरूको विश्वासलाई वास्तविक जीवनमा उतार्ने कोशिस गर्नेछु,’ उनले भने।

सारेगमपको सुरुदेखि अन्तिम चरणसम्म करिब सात महिना उनी मुम्बई बसेका थिए। त्यहाँ उनी अन्य प्रतियोगीसँग एउटै फ्ल्याटमा बस्थे। एकअर्काबीच गीत गाउने प्रतिस्पर्धा चल्थ्यो।

‘साथीहरूसँगै बस्यो, प्राक्टिस गर्‍यो, अडिसनमा गयो,’ मुम्बई बसाइको अनुभव सुनाउँदै प्रितमले भने, ‘एक किसिमको छुट्टै आनन्द आउँथ्यो। मेरो पफर्मेन्स सुनेर साथीहरू तारिफ गर्थे। त्यस बेला मलाई संसारै जितेजस्तो हुन्थ्यो।’

यसबीच प्रितम पञ्जाब र गुजरातमा समेत गएर कन्सर्टमा सामेल भए। कार्यक्रम सकेर नेपाल छिर्नैवित्तिकै सयौं संख्यामा आएका शुभेच्छुकले फूलमालासहित स्वागत गरेको क्षणलाई उनी अविश्मरणीय मान्छन्।

‘सबैले बधाइ दिनुभयो, नेपालको नाम राख्यौ भन्नुभयो,’ प्रितमले सम्झे, ‘एकदिन पक्कै नाम राख्छु भन्ने विश्वास जागेको छ।’

उनी अहिले पढाइमा व्यस्त छन्। लामो मुम्बई बसाइले पढाइ छुटेको छ। उनी इटहरीको विश्व आदर्श बोर्डिङमा कक्षा ६ मा पढिरहेका छन्।

‘अधुरा होमवर्कहरू पूरा गरिरहेको छु,’ उनले भने, ‘बाहिर कसैसँग भेट भएको छैन, कोचिङ चलिरहेकाले बिहान ८ बजे नै स्कुल गइसकेको हुन्छु, पाँच बजेपछि घर आइपुग्छु।’

घरमै आफन्त तथा उनका गुरुहरू भेला हुन्छन्, बेलाबखत। उनीहरूसँगै गीत-संगीत सिक्छन्, मुम्बईको अनुभव बाँड्छन्।

इटहरी उप-महानगरपालिका-५ का प्रितम पाँच वर्षको उमेरदेखि नै गीत गाउन थालेका थिए। टोलमा सांस्कृतिक कार्यक्रम हुँदा उनी मञ्चमा गीत गाउन अघि सर्थे।

उनी कान्तिपुर टेलिभिजनले २०६२ मा सञ्चालन गरेको ‘सुरशाला आइडल जुनियर’ को प्रतिस्पर्धामा भाग लिँदा दोस्रो भएका थिए। सारेगमपमा तेस्रो स्थान हासिल गरेपछि प्रितमको चर्चा बढेको छ। उनलाई फिल्मका गीत गाउने ‘अफर’ पनि आउन थालेको छ।

‘हजार जुनीसम्म’ नामक नेपाली चलचित्रको गीत गाउन काठमाडौं बोलाइएको उनले बताए। उक्त फिल्ममा बाल कलाकार अनुभव रेग्मीले अभिनय गर्दैछन्।

‘केही दिनमै काठमाडौं आउँछु,’ १२ वर्षीय प्रितमले भने, ‘यो क्षमता देखाउने अवसर हो भन्ने लागेको छ।’