अन्तर्राष्ट्रिय रुटमा यात्रा गर्ने नेपाली हवाई यात्रुहरुको न्यूनतम बिमा रकम बृद्धि हुने भएको छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ) को मन्ट्रियल महासन्धि १९९९ लाई अनुमोदन गरेपछि नेपालीहरुको हवाई बिमाको न्यूनतम रकम बढ्ने भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट पारित भएर प्रतिनिधि सभामा अनुमोदनका लागि दर्ता भएको उक्त महासन्धिअनुसार नेपाली यात्रुको विमा रकम बढ्ने छ।
संसदले अनुमोदन गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओमा औपचारिकरुपमा दर्ता गराएपछि नेपाली एयरलाइन्स, नेपालमा उडान गर्ने एयरलाइन्स सबैले नेपाली यात्रुको विमा रकम बढाउनुपर्ने भएको हो।
यो महासन्धिले न्यूनतम अनिवार्य विमा दायित्वको रकम सिमा तोकोछ जसअनुसार दुर्घटनाबाट यात्रुको मृत्यु, चोटपटक लागेमा १ लाख १३ हजार १ सय एसडिआर(अन्तर्राष्ट्रिय मुद्रा कोषको मौद्रिक इकाइ) रहेको छ। यो रकम भनेको १ लाख ५८ हजार ३४० अमेरिकी डलर बराबर हो।