नेपाल आयल निगमले भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गर्न लिजमा जग्गा लिने भएको छ। जग्गा खरिद गर्दा विवाद आउने सम्भावना देखिएपछि उसले यस्तो निर्णय गरेको हो। यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको गौतम बुद्ध विमानस्थल सुदृढीकरण कार्य आयोजनामार्फत जग्गा अधिग्रहण गर्ने योजना निगमले बनाएको थियो। आयोजनाले डिपोका लागि प्रतिकठ्ठा १२ लाखदेखि ८० लाख मूल्यसम्मको जग्गा अधिग्रहण गर्न प्रस्ताव गरेको थियो। यो मूल्य निगमले सोही स्थानमा टेन्डरमार्फत खरिद गरेको जग्गाभन्दा निकै महँगो भएपछि निगमले लिजमा जग्गा लिने तयारी गरेको हो।