मानिस जन्मँदा स्वतन्त्र हुन्छ । कुनै जात, धर्म, वर्ण, भुगोल आदिको आधारमा प्रकृतिले विभेद गरेको देखिँदैन । समाज विकास क्रमसँगै मानिस स्वयंले सामाजिक नियमहरुको प्रतिपादन गर्यो ।

तीनै नियमहरुले उनीहरुको सोचाइ, व्यवहार, संस्कार र अन्य क्रियाकलाप निर्धारण गर्यो । तीनै सोचाइ र संस्कारको कारण समाजामा धेरै असमानताहरुले जरो गाडेर बसेको छ । समाजका असंख्य असमानताहरु मध्ये महिला र पुरुषहरुवीचको विभेद मुख्य हो । जुन वर्षौंदेखि चर्चाको विषय बन्दै आएको छ ।

पुरुष वर्गको श्रोत र सत्तामा पहुँच भएको अवस्थामा उत्पादनमा आफ्नो पहुँच नभएका महिला शक्तिशाली पुरुषहरुबाट शासित हुन पुगे । त्यहाँबाट सुरु भयो पितृसत्ता ।

शासन जोगाइराख्न पुरुषहरुले आफु अनुकुल सामाजिक नियम र संस्कारहरुको विकास गरे । विस्तारै त्यही नियम र संस्कारले पितृसत्ताको रुप लियो । हो यहि संस्कारमा हुर्किएका महिला र पुरुषमा त्यहि सोचले जरा गाड्यो । अनि त्यहि सोचले घर बनाएको हाम्रो दिमागले महिला पुरुष सरह स्वतन्त्र भएको, प्रतिष्ठित पदमा रहेर काम गरेको, चित्त नबुझेको विषयमा फरक बिचार राखेको रुचाउँदैन । अझ आफ्नो जीवन जीउने शैली आफ्नो इच्छाअनुसार अपनाए त पचाउँदै पचाउँदैन ।

उल्टै समाजमा विकृति फैलाएको आरोप आउँछ कथित सुसंस्कृतहरुबाट । यस्ता आरोपहरुले सेकेण्ड सेकेण्डमा लाखांै महिलाहरुको चरित्रहत्या भइरहेको छ । हत्याराहरु भने खुलेआम आफनो दादागिरीको नाङ्गो तरबार बीच सडकमा नचाइरहेका छन् । यी हत्याराहरुलाई दिने सजाय के छ ? र कुन मानवीय अदालतले दिन्छ यिनीहरुलाई सजाय ?

एक प्रसंग जोडौं, मेरी एउटा साथी जो शिक्षित छिन् । विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छिन् । सामाजिक र आर्थिक अवस्था बलियो छ । यति हुँदाहुँदै पनि उनको वैवाहिक जीवन राम्रो भएन । समाजले सानैदेखि सिकाएको छोरी भएर सहनशील हुनुपर्ने नियमहरुको पालना गर्दा गर्दै एकदिन बिद्रोही बनिन् । श्रीमानको श्रृङ्खलाबद्ध यातनाबाट मूक्तिको लागि सम्बन्ध विच्छेदको निर्णय गरिन् । जे उनले भोगिन् शाब्दिक व्याख्यामा फिका नै हुन्छ सायद ।

हाम्रो जस्तो समाजमा सम्बन्ध विच्छेद सहज स्वीकारिँदैन । एउटा श्रीमानसँग सम्बन्ध बिग्रिएपछि महिलाको जीवन नै सकियो । उनका लागि संसारका सबै बाटाहरु बन्द भए । अब नयाँ सम्बन्ध स्थापना गरेर सुखी हुने ठाउँ नै छैन । जस्ता टिप्पणीहरुको ओइरोले महिलालाई झन् मर्माहत बनाइन्छन् ।

तर के पुरुषको लागि यहि सोच लागु हुन्छ त ? अहँ कसैले भन्दैन । ‘मर्दकी सातवटी’ भन्ने सोचबाट विकसित हाम्रो समाजमा एउटा महिलासँग सम्बन्ध तोडिदैमा पुरुषलाई केही असर नगरेको ठहर्छ । घरमा श्रीमती हुँदाहुँदै अर्को ल्याउँदा ‘मर्द’को उपाधी दिने यो समाज महिलालाई जीवनभर श्रीमानको दास भएको हेर्न चाहन्छ ।

प्रसंग फेरि मेरै साथीको । उ शसक्त भएर पनि उनलाई सम्बन्धबिच्छेदको निर्णय लिन धेरै गाह्रो भएको थियो । निर्णयकै लागि उनले एक वर्ष समय लगाईन् । घर, समाज, संस्कार र धर्मका नाममा हानिएका छर्राहरुबाट घाइते उनले ठूलोे साहस बटुलेर त्यो लक्ष्मण रेखाबाट बाहिर निस्किइन्, स्वतन्त्र जीवन जीउने अठोटका साथ ।

आफ्नो जीवन कसरी जीउने व्यक्तिको नितान्त व्यक्तिगत निर्णयबाट हुनुपर्ने हो । मेरो साथीले पनि सम्मानजनक जीवन जीउने स्वनिर्णय लिईन् । तर यो समाजको लागि भने एउटी महिलाले गरेको दुस्साहस बनिदियो ।

त्यसपछि उनले कथित इज्जत नजोगाईदिएको नाममा टिप्पणीका वर्षा खेप्नुपर्यो । प्रश्नका खातका उत्तर दिन तयार हुनुपर्यो । केही समयअघिसम्म उनले पाएको यातनाका विरुद्ध चुँ नबोल्ने समाज उनको स्वतन्त्रताको निर्णयविरुद्ध भने यसरी आइलागे मानौं एक्लै बस्ने उनको निर्णय गम्भिर अपराध हो ।

कतिले त त्यसको अरु केटासँग सम्बन्ध थियो, त्यसैले लोग्नेलाई छोडीसम्म भने । तर कसैले पनि सोधेनन् त्यो निर्णय लिनुअघि उनले कुन हदसम्मको यातना सहिन् ? त्यही कारणले उनी गम्भिर डिप्रेसनमा गईन् । डिप्रेसनको औषधी खानुपर्ने भयो ।

अब विश्लेषण गरौं, महिलाको मानमर्दन गर्न कति निर्लज्जताका साथ उत्रिन्छ यो समाज । आखिर महिलाको चरित्रहत्या गर्न यो समाजका पात्रहरु किन मरिहत्ते गर्छन् ?

अनि फेरि यो ‘चरित्र’ भन्ने शब्द महिलाकै लागि किन जोडिन्छ ? के चरित्र महिलाको मात्रै हो ? अनि महिलाले मात्रै चरित्रवान हुनुपर्ने ? जसले पलपलमा महिलाहरुकोे सपना, इच्छा र स्वतन्त्रता माथि कुठाराघात गरिरहेको छ उनीहरुलाई चाँही चरित्रवान हुनुपर्दैन ?

सभ्य समाज निर्माण गर्ने हो भने दुबै महिला र पुरुषले एक अर्काको अस्तित्व स्वीकार्न जरुरी छ । कसैको चरित्र हत्या गर्ने कसैलाई छुट छैन । र त्यसको लागि महिलालाई होच्याउने, उसको स्वतन्त्रतालाई उसको इज्जत र प्रतिष्ठासँग जोडेर धज्जी उँडाउने संस्कारको अन्त्य गर्दै नयाँ मानवीय संस्काराको सुरुआत गर्न जरुरी छ ।

स्रोत ः महिला खबर