प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन नभए पनि प्रदेश नम्बर २ मा निर्धारित मितिमै चुनाव गर्ने दृढता व्यक्त गरेका छन्।

राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनको माग उठाइरहेका बेला उनले संशोधन प्रस्ताव पारित गराउन प्रयास गर्ने सहमति भएको बताउँदै त्यसको ग्यारेण्टी गर्न नसकिने बताए।

पारित गर्न आवश्यक दुई तिहाई बहुमत नदेखिए पछि सत्तापक्षले उक्त संशोधन विधेयक संसद्‌मा अगाडि बढाएको छैन।

तर पारित भए पनि नभए पनि चुनावमा जाने सहमति भएको प्रधानमन्त्री देउवाको दावी छ।

उनले भने, “संशोधन भए पनि नभए पनि चुनावमा जाने सहमति भएको हो। कहाँबाट ल्याउने दुई तिहाई? जबर्जस्ती गर्न मिल्छ र? मिल्दैन नि। संशोधन गर्ने प्रयास गर्ने सहमति भएको हो। पास हुन्छ भन्ने ग्यारेण्टी त छैन नि।”

साप्ताहिक साझा सवालमा प्रधानमन्त्री देउवाले त्यस्तो धारणा व्यक्त गरेका हुन्।

Source : BBC/Nepali